काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा घरजग्गा कारोबारबापत कुल २ अर्ब २७ करोड ४८ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउन महिना भरी देशभरका १०८ मालपोत कार्यालयहरुले घरजग्गा कारोबार बापत विभिन्न शिर्षकमा उक्त राजश्व संकलन गरेको हो ।
जसमा रजिष्ट्रेशन शुल्कबापत १ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ संकलन भएको छ । यस्तै, पूँजीगत लाभकर ६१ करोड ५८ लाख रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।
सो अवधिमा काठमाडौं उपत्यकामा मात्र १ अर्ब ७ करोड ९४ लाख रुपैयाँ राजश्व संकलन भएको छ । उपत्यकामा रहेका ९ वटा मालपोत तथा भूमि कार्यालयहरुले यो एक महिनामा ६९ करोड रुपैयाँ रजिष्ट्रेशनबाट संकलन गरेका छन् । पूँजीगत लाभकर ३१ करोड ४५ लाख रुपैयाँ संकलन भएको छ ।
ललितपुरका दुई मालपोत कार्यालयहरुले एक महिनाको अवधिमा १९ करोड ९३ लाख रुपैयाँ राजश्व संकलन गरेका छन् । भक्तपुर मालपोत कार्यालयले १५ करोड १२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
सो एक महिनाको अवधिमा मालपोत कार्याललयमा लिखत पारित, नामसारी, संशोधन, हाल साविक, रोक्का, फुकुवा लगायतका कामहरु धेरै भएका थिए । सो अवधिमा कुल ९६ हजार १ सय ६३ कारोबार भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
सो अवधिमा लिखतका लागि ३७ हजार ९ सय ७० फारम दर्ता भएका थिए र नामसारीका लागि १ हजार ७ सय १९ फारम तर्दा भएका थिए । संशोधनका लागि २ हजार ६५८ दताए भएका थिए ।
२६ हजार २ सय ९ जग्गा रोक्का भएका छन् भने १९ हजार २ सय १ फुकुवाका काम भएको विभागका सूचना अधिकारी सन्त्रीव नेपालले जानकारी दिए ।
सो अवधिमा १९ अपार्टेन्ट किनबेच भएका छन् । उपत्यकामा मात्र एक महिनामा १४ हजार १२४ वटा घरजग्गा कारोबार भएका छन् । सो अवधिमा उपत्यकामा रहेका १८ अपार्टमेन्ट खरिद विक्री भएको उनले बताए ।
कोभिडका कारणले धेरै कारोबार नभए पनि विगतमा लक डाउनका कारण रोकिएका धेरै कामहरु भएको उनले बताए । ‘धेरै जसो मानिसहरु लक डाउनका कारण रोकिएका कामहरु गर्न आएका छन्, भिडभाड बढे पछि बन्द गर्नु पर्ने अवस्था भएर हो नत्र अझै बढि राजश्व संकलन हुन सक्थ्यो,’ नेपालले भने ।
२०७६ साल चैत्र ११ गतेबाट बन्द भएको मालपोत कार्यालयहरु असार १ गतेबाट पुन सञ्चालनमा आएका थिए । त्यसलगतै मालपोत कार्यालयहरुमा भित्र तथा कारोबार समेत बढ्न थालेको थियो । पछिल्लो समय उपत्यकामा बढ्दो कोरोनाका कारण फेरी मालपोत कार्यालयहरु बन्द गरिएको छ । भाद्र २३ गतेबाट मालपोत कार्यालयहरुमा सेवा कार्य बन्द गरिएको छ । कार्यालयमा कर्मचारीहरुले गर्नु पर्ने आन्तरिक काम भने हुने बताइएको छ ।
गत आर्थिक वर्ष २०७६/७७ मा कुल ३४ अर्ब ६८ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । सो आवमा ४ अर्ब १२ करोड १२ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो भने रजिष्ट्रेशन मार्फत ९ अर्ब ९५ करोड २८ लाख रुपैयाँ संकलन भएको थियो ।