काठमाडौं । लामो सयमदेखि अलपत्र र भद्रगोल रहेको वस्तु विनिमय बजार (कमोडिटी बजार) यो आर्थिक वर्ष भित्रै सञ्चालनमा आउने भएको छ ।
नियामक निकाय धितोपत्र बोर्डका सह-प्रवक्ता रुपेश केसीले चालू आर्थिक वर्ष भित्रै बजार सञ्चालनको लागि चाहिने संरचना बन्ने र सञ्चालनमा आउने बताए ।
धितोपत्र बोर्डले करिब १४-१५ महिना अघि वस्तु विनिमय बजारको संरचना तयार पार्न ‘कमोडिटी एक्सचेन्ज’को लाइसेन्सको लागि आवेदन माग गरेको थियो । उक्त लाइसेन्सको लागि ६ वटा संस्थाले आवेदन दिएका थिए । तर, त्यस उपर अहिलेसम्म कारवाही भएको छैन ।
नेपालजस्तो उपभोग्य वस्तुको मूल्यमा व्यापक उतारचढाव हुने र उत्पादक र किसानहरु भने सधैं मूल्य नपाएर मारमा पर्ने समस्या रहेको मुलुकमा यो बजार अत्यावश्यक रहेको कमोडीटी बजारका जानकारहरु बताउँछन् ।
‘अहिले जारी रहेको महामारी र त्यो भन्दा अघि पुरानो अध्यक्षको कार्यकाल सकिएको र नयाँ अध्यक्षको नियुक्तिको प्रक्रियाले केही समय ढिलो हुन गएको हो । अब प्रक्रिया अगाडि बढ्छ र यसै आर्थिक वर्ष भित्र बजार सञ्चालनमा आउँछ,’ केसीले चाणक्य पोष्टसँग भने ।
तर, झण्डै साढे २ दशकदेखि सञ्चालनमा रहेको सेयर बजारको न नियमन राम्रोसँग हुन नसकिरहेको समयमा धितोपत्र बोर्डले फेरि अर्को बजारको नियमन गर्न नसक्ने सरोकारवालाहरुको बुझाइ छ ।
‘सेयर बजारमा इन्साइडर ट्रेडिङ भयो भनेर अहिलेसम्म कसैलाई कारवाही गरेको सुनिएको छैन । नेप्से र धितोपत्र बार्डको सम्बन्ध राम्रो छैन । कमसल सफ्टवेयर ल्याएको सम्बन्धमा एकअर्कालाई दोष थुपार्ने काम मात्र भएको छ । यस्तो अवस्थामा अब आउने नयाँ बजारको प्रभावकारी नियमन हुन सक्नेमा धेरै शंका देखिन्छ’, एक कमोडिटी एक्सचेन्जका सञ्चालकले भने, ‘हामी लामो समयदेखि यो क्षेत्रमा काम गर्दै गरेको भए पनि हामीलाई कुनै सुविधा दिइएको छैन । नयाँ ऐनले पुराना संस्थाहरुलाई चिन्दैन भनिएको छ । विवेकसम्मत ढंगले काम नगरेको जस्तो देखिन्छ ।’
तर, धितोपत्र बोर्ड भने पहिला ऐन नभएर नियमन गर्न र बजार सञ्चालनको लागि संरचना बनाउन नसकिएको बताउँछ । ‘अहिले नियमनको जिम्मा हामीलाइ दिइएको छ । त्यसका लागि ऐन पनि बनिसकेको अवस्था हो । त्यसैले अब बजार राम्रोसँग सञ्चालन हुन्छ’ सहायक प्रवक्ता केसी भन्छन्, ‘हामी संभावनाहरु खोजी गर्दै छौं । कर्मचारीहरुलाइ जिम्मेवारी दिएका छौं । दरबन्दी थप गरेर अघि बढ्दै छौं । तालिम दिने ‘सर्भिलेन्स’ गर्ने गरी काम अघि बढ्दै छ ।’
नेपालमा कमोडिटी बजारको शुरुआत भएको १५ वर्ष हाराहारी भइसकेको छ । तर, अहिलेसम्म पनि यो बजार प्रभावकारी नियमनको अभावमा अलपत्र परिरहेको छ । कुनै समय कम्पनी रजिष्ट्ररमा ५ दर्जन कमोडिटी एक्सचेन्ज दर्ता थिए भने नियमित लगानीकर्ता ३० हजारभन्दा बढी पुगिसकेका थिए । तर, अहिले अवस्था त्यस्तो छैन नाम मात्रका एकाध एक्सचेन्ज आफ्नो अस्तित्व जोगाएर बसेका छन् ।
नेपालजस्तो उपभोग्य वस्तुको मूल्यमा व्यापक उतारचढाव हुने र उत्पादक र किसानहरु भने सधैं मूल्य नपाएर मारमा पर्ने समस्या रहेको मुलुकमा यो बजार अत्यावश्यक रहेको कमोडीटी बजारका जानकारहरु बताउँछन् ।
कृषि उत्पादनको बजारीकरण, मूल्य स्थिरता, किसानलाई उत्पादनको उचित मूल्य तथा कालोबजारी न्यूनीकरणमा एक्सचेन्जको भूमिका हुन्छ । तर, नेपालमा भने यो बजारले सट्टेबाजीको काम गर्यो । प्रभावकारी अनुगमन नहुँदा यो बजारमा धेरै अनियमितता भएका कुराहरु पनि बाहिर आए ।
‘अब त्यस्तो हुँदैन । कानूनी संरचनाहरु तयार भइसकेका छन् । वस्तुहरुको मूल्य निर्धारण गर्ने, ‘हेजिङ’ गर्ने र ‘आर्बिटेज’ गर्ने यो बजारको मुख्य उद्देश्य हो । यी उद्देश्यहरु पूरा हुनेछन्,’ सह-प्रवक्ता केसीले भने ।