काठमाडौं । प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुका लागि काठमाडौंमा भिआईपी कोलोनी निर्माण हुने भएको छ । भीआईपी कोलोनी निर्माणका लागि सरकारले असार २० गते टेन्डर आह्वान गरेको छ । इ–टेन्डरमा भागलिन चाहनेले उक्त मितिबाट ३० दिन भित्र आवेदन दिन सक्ने छन् ।
टेन्डर आह्वानको मिति पुरा भएपछि टेन्डर छनोटको प्रकृया सुरु गरिने छ । त्यसपछि ठेक्का छनोटको प्रकृयाका लागि डेढ महिना लाग्ने छ । यसको मतलव सबै प्रकृया पुरा भएपछि अबको २ महिना पछि भीआईपी कोलोनी निर्माणको काम सुरु गरिने भवन विभागले जानकारी दिएको छ ।
प्रदेश प्रमुख तथा मुख्यमन्त्रीलाई १४ वटा ब्लकमा १४ भवन निर्माण गरिन लागिएको भवन निर्माण संयोजक प्रकिर्ण तुलाधारले जानकारी दिए ।भैसेपाटीमा २७ रोपनी १२ आना जग्गामा उक्त कोलोनी निर्माण गर्न लागिएको हो ।
टेन्डर छनोटपछि त्यसको टेक्नीकल इभ्यालुएसनका लागि १५ दिन लाग्ने अनुमान गरिएको छ भने त्यसपछि ७ दिन भित्र आर्थिक सम्झौताको प्रकृया अघि बढाइने छ ।
छनोट भएका मध्ये कम मूल्यमा काम गर्छु भन्नेलाई छनोट गरि ठेक्का हस्तान्त्रण गरिने छ । त्यसपछि ठेकेदारलाई काम सुरु गर्न १५ दिनको म्याद दिईने छ । ठेकेदारले उक्त म्याद भित्र आफ्नो काम फिल्डमा सुरु गर्नुपर्ने हुन्छ ।
भीआईपी कोलोनी निर्माणका लागि १ अर्ब बजेट विनियोजन गरिएको छ । काम सुरु भएको २ वर्षमा निर्माण पुरा गरिने अनुमान गरिएको छ ।
प्रदेश प्रमुख तथा मुख्यमन्त्रीलाई १४ वटा ब्लकमा १४ भवन निर्माण गरिन लागिएको भवन निर्माण संयोजक प्रकिर्ण तुलाधारले जानकारी दिए ।भैसेपाटीमा २७ रोपनी १२ आना जग्गामा उक्त कोलोनी निर्माण गर्न लागिएको हो ।
१७ रोपनी ७ आना जग्गामा भवन निर्माण गरिने छ । ५ रोपनी जग्गामा आन्तरिक सडक निर्माण गरिने छ । ८ आना जग्गामा बगैंचा र पोखरी निर्माण गरिने छ भने ४ रोपनी १२ आना जग्गामा पार्किङ स्थल निर्माण गरिने उनले बताए ।
कोलोनीमा साढे २ तल्लाको भवन निर्माण हुने छ । भवनमा प्रतीक्षा कक्ष, सचिवालय, मुख्यमन्त्री तथा प्रद्येश प्रदेश प्रमुख कार्यालय र २५ जना क्षमता भएको बैठक हल निर्माण गरिने छ ।
भवन निर्माण संयोजक प्रकिर्ण तुलाधारका अनुसार उक्त भवनलाई प्रदेश प्रमुख तथा मुख्यमन्त्री आउँदा भेटघाट तथा मिटिङका लागि प्रयोग गरिने छ ।
प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुका लागि बन्ने उक्त कोलोनीलाई सम्पर्क कार्यालयको रुपमा समेत प्रयोगमा ल्याइने उनले बताए ।‘टेन्डर आह्वान मिति सकिएको २ महिनामा निर्माणको काम सुरु गरिने छ, २ वर्षमा निर्माण पुरा गर्ने लक्ष्य राखेका छाैँ,’ तुलाधारले चाणक्य पोष्टसँग भने ।
गत वर्ष मंसिरमा मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि आवास निर्माण गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार सहरी विकास तथा भवन निर्माण विभागले प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि भीआईपी कोलोनी निर्माण गर्ने तयारी गरेको हो ।