काठमाडौं । आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सेयर बजारमा सूचीकृत कम्पनीहरुले गत आवको नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेसँगै त्यसको असर बजारमा परेको अनुमान लगाइएको छ ।
कोरोनाका कारण अधिकांश कम्पनीहरुको नाफा घटेको छ । नाफा घट्दा लगानीकर्ताले पाउने लाभांश समेत घट्ने हुँदा बजारमा त्यसको असर सेयर बजारमा देखिएको हो ।
आज सेयर बजार मापक सूचक नेप्से १७.३३ अंकले घटेर १३९१.४६ बिन्दुमा आइपुगेको छ । यसदिन १८१ कम्पनीको १ अर्ब २५ करोड ९३ लाख २० हजार ८५० रुपैयाँ बराबरको कारोबार भएको छ । ४३ लाख ७१ हजार ८५४ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार समूह बाहेक अन्य सबै समूहको परिसूचक ओरोलो लागेको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ७६.८७ अंकले घटेको छ ।
कोराबार रकमका आधारमा आज नेपाल बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको ८ करोड १४ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
घट्दो बजारमा पनि आज २ वटा कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साधना लघुवित्त र छ्याङदी हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
आज नेपाल आँखुखोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ७.४१ प्रतिशतले घटेको छ ।