भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माणका लागि टेन्डर आह्वान गर्ने तयारी

काठमाडौं । वाग्मती प्रदेशको उपत्यकाको तीनसहित १० जिल्ला जोड्ने पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग निर्माण र पुष्पलाल चक्रपथको निर्माण र विस्तारका लागि केही हप्ताभित्रै टेण्डर आह्वान गर्ने तयारी भइरहेको वाग्मती प्रदेश भौतिक तथा पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयले चालू आर्थिक वर्षभित्रै पुष्पलाल चक्रपथ र भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि बजेट विनियोजन गरिसकेको जनाएको छ ।

 

मकवानपुर जिल्लाको सिमाना र बारा जिल्लाको सिमानामा पर्ने चुरियामाईमा वीरगञ्जबाट हेटौँडातर्फ राणाकालीन अवस्थामा यातायात सञ्चालनमा रहेको १०३ वर्षे पुरानो ३०० मिटर सुरुङलाई सञ्चालनमा ल्याउन पनि प्रदेश सरकारले यस वर्षका लागि बजेट विनियोजन गरिएको र विनियोजित बजेटअनुसार उक्त सुरुङमार्ग केही महिनाभित्रै सञ्चालनमा ल्याउने प्रयास भइरहेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका अधिकृत हरिप्रसाद उप्रेतीले जानकारी दिए ।

 

भीमफेदी–कुलेखानी सुरुङमार्ग आगामी ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने उद्देश्यले आर्थिक मामिला तथा योजना मन्त्रालयले १९ अर्ब ३२ करोड ५० लाख बजेट विनियोजन गर्ने सहमति दिएको भए पनि प्रदेश सरकारले चालू आवमा १ अर्ब बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत विपिन राईले बताए ।

 

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण प्रक्रियाको थालनी गर्न प्रदेश सरकारले सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा समन्वय र सहकार्य गरेर केही हप्ताभित्रै निर्माणका लागि टेण्डर आह्वान गर्न गृहकार्यका साथै सम्बन्धित मन्त्रालयको मन्त्री तथा सचिवसँग परामर्श भइरहेको वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका प्रवक्ता नवीन सिंहले जानकारी दिए । रासस

सुनको मूल्य अझै लामो समयसम्म बढ्नेछ, यस्ता छन् आधार Read Previous

सुनको मूल्य अझै लामो समयसम्म बढ्नेछ, यस्ता छन् आधार

व्यापारीमा कोरानो देखिएपछि भदौ ७ गतेसम्म न्यूरोडका पसल बन्द Read Next

व्यापारीमा कोरानो देखिएपछि भदौ ७ गतेसम्म न्यूरोडका पसल बन्द