काठमाडौं । भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार कार्य कोभिड १९ का कारण पर सरेको छ । गत आर्थिक वर्ष २०७६/७७ असार मसान्तसम्म सडक स्तरोन्नति गरी हस्तान्तरण गर्ने लक्ष्य लिइएको थियो ।
चैत ११ गतेदेखि कोभिड १९ का कारण लकडाउन भएपछि कालोपत्र गर्ने मुख्य समयमा हुन नपाएको आयोजना प्रमुख प्रदीप शाक्यले बताए ।
उनका अनुसार हाल वर्षाको समय भएकाले भदौ महिना भित्र काम सुरु गरिने छ । उनले आउँदो मंसिरदेखि पुस महिना भित्रमा काम सकाउने लक्ष्य रहेको छ ।
४१.१३ किलोमिटर लामो सो सडक विस्तारको ठेक्का भारतीय कम्पनी गावर कन्सट्रक्शन लिमिटेडले पाएको थियो । हालसम्म सो खण्डको ७० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । वित्तिय खर्च ५६ प्रतिशत रहेको उनले जानकारी दिए ।
गत आवमा उक्त आयोजना अन्तर्गत ४६ करोड रुपैयाँ बजेट खर्च भएको थियो । गत आवमा सो खण्डमा १२ किलोमिटर बाँया तर्फ कालोपत्रे सम्पन्न भएको थियो भने दाँया तर्फ ८ किलोमिटरमा कालोपत्रेको काम पूरा भएको थियो ।
चालू आर्थिक वर्षमा ४ किलोमिटर कालोपत्रे गर्न बाँकी रहेको छ । दाँया तर्फ ६ किलोमिटर कालोपत्रे गर्न बाँकी रहेको उनले बताए ।
३२ महिना अगाडि रुपन्देहीको भैरहवादेखि लुम्बिनी हुँदै कपिलवस्तुको तौलिहवा जोड्ने उक्त सडकखण्डको भौतिक प्रगति अहिलेसम्म जम्मा ६० प्रतिशत भएको छ ।
२०७६ साल पुस २८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी १ अर्ब ९३ करोड ६३ लाखमा ठेकेदार पक्षसँग ठेक्का सम्झौता भएको थियो । सो समयमा ठेकेदार कम्पनी काम सम्पन्न गर्न नसकेपछि पुन २०७७ वैशाख १८ गतेसम्मका लागि म्याद थप गरिएको थियो ।
तर, सो समय अवधि सुरु अघि नै चैत्र महिनामा कोभिडका कारण लकडाउन भयो जसले विस्तारलाई गति दिन सकेन । उक्त अवस्थाका कारण असार मसान्तसम्म गत आवमै विस्तार पूरा गर्ने भनिए पनि लगत वर्षा सुरु भएकाले आयोजनाको काम अघि बढ्न सकेको छैन । अब उक्त आयोजनाको काम मंसिर/पुस महिना भित्र सम्पन्न हुने आयोजना प्रमुख शाक्य बताउछन् ।
‘असार मसान्तसम्म सक्ने लक्ष्य थियो, कोभिडका कारण केही गर्न पाएनौँ, अहिले वर्षाको समय छ । यसमा केही गर्न सकिँदैन ।’ आयोजना प्रमुख शाक्यले भने ‘अब भदौबाट काम सुरु हुन्छ, मंसिर/पुससम्म विस्तार पूरा गरेर हस्तान्तत्रण गर्नेछौँ ।’
एशियाली विकास बैंकको ऋण सहयोगमा सम्पन्न हुने उक्त सडक समयमै पूरा नहुँदा समय म्याद बारम्बार थपिदै आएको छ । उक्त सडकखण्डमा रहेका २ हजार ६८ रूख सबै हटाइसकिएको छ ।
आयोजनाका अनुसार ६ लेन सडकको बीच भागमा ‘ग्रिन बेल्ट’, दुई–दुई लेनको सडक र दायाँबायाँ सर्भिस लेनसहितको ‘फुटपाथ’समेत निर्माण गरिनेछ । सडक खण्डमा ३६ वटा यात्रु प्रतीक्षालयका साथै काटिएका रूखको ठाउँमा पाँच हजार एक सय रूख रोप्ने जनाइएको छ ।
सडकको प्राविधिक कामको समन्वय, निगरानी र परीक्षण कोरिया इञ्जिनीयरिङ कन्सलटेन्टले गरिरहेको छ । सडक स्तरोन्नतिपछि यो सडकले तौलिहवा र लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्ने छ ।
विस्तार सम्पन्न भएपछि भैरहवा विमानस्थलबाट लुम्बिनीसम्म गाडीमा १५ मिनेटमा पुग्ने अनुमान गरिएको छ । अहिले भैरहवा विमानस्थलबाट लुम्बिनीसम्म पुग्न गाडीबाट करिब आधा घण्टा लाग्ने गर्छ ।