काठमाडौं । लगानी बोर्ड सक्रिय नहुँदा बाहिरी चक्रपथ निर्माण अलपत्र परेको छ । बाहिरी चक्रपथ निर्माणको काम चिनियाँ कम्पनीलाई दिने तयारी भए पनि बोर्डले ‘रिपोर्ट फर प्रोजेक्ट’ (आरएफपी) बनाउने जिम्मा नदिँदा कामले गति लिन नसकेको हो ।
२०७६/७७ मा चिनियाँ कम्पनी ‘चाइना कम्युनिकेशन कन्स्ट्रक्शन’ लाई रिपोर्ट फर प्रोजेक्ट (आरएफपी) बनाउन दिने तयारी भइरहेको थियो । सो काम एक आर्थिक वर्ष पूरा हुँदा समेत सम्पन्न हुन सकेको छैन ।
तर, लगानी बोर्डले आरएफपी तयार पार्दै छौँ भन्न छाडेको छैन । प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति नभएको लगायत बाहना बनाउँदै बोर्डले आरएफपी तयार पार्न नसकेको जनाएको छ । । बोर्डले आरएफपी दिए पछि चिनियाँ कम्पनीले त्यस अनुसार निर्माणका लागि प्रस्ताव पेश गर्नु पर्नेछ ।
डीपीआर बनिसके पनि लगानी बोर्डल ‘रिपोर्ट फर प्रोजेक्ट’ (आरएफपी) बनाउने जिम्मा चिनियाँ कम्पनी ‘चाइना कम्युनिकेशन कन्स्ट्रक्शन’ दिने टुंगो लागे पनि बोर्डले विभिन्ना बाहनामा स्वीकृत नदिँदा आयोजनाको काम अगाडि बढ्न नसकेको हो ।
लामो समयसम्म सीईओ नियुक्ति नहुँदा आरएफपीको प्रकृया अघि बढ्न सकेको थिएन् । अहिले बोर्डमा सीईओ नियुक्त भएसँगै अब कामले गति लिने बोर्डले जनाएको छ ।
विगतमा जाइका, एडीबी, उपत्यका विकास प्राधिकरणहरुले छुट्टाछुट्टै अध्ययन गरेकाले सो अध्ययन कम्पाइल गरेर त्यसै अनुसार आरएफपी दिने तयारी भइरहेको बोर्डका एक कर्मचारीले जानकारी दिए । ‘सीईओे नहुँदा पहिलै राम्रोसँग प्रकृया अघि बढ्न सकेको थिएन, फेरि कोभिड १९ले काम हुन दिएन, नयाँ सीईओे आउनु भएको छ अब केही होला,’ उनले चाणक्य पोष्टसँग भने ।
२०७५ चैत्र १५ र १६ गते भएको लगानी सम्मेलन भएको थियो । सो सम्मेलनमा चिनियाँ कम्पनी ‘चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी’ ले निर्माण प्रस्ताव हालेको थियो । बाहिरी चक्रपथ निर्माण गर्न चीनका चार वटा कम्पनीले आशयपत्र दिएका थिए । लगानी बोर्डले तीमध्ये तोकेको मापदण्ड पूरा गरेको चाइना कम्युनिकेसन कन्स्ट्रक्सन सर्ट लिस्टमा सूचीकृत गरेको थियो ।
सम्मेलन मार्फत सो कम्पनी सर्ट लिस्टमा परेको हो । लगानी प्रस्ताव आएका मध्ये सो कम्पनी सरकारको आर्थिक संक्षिपत स्वीकृती सूचीमा परेको छ । सो कम्पनी एक मात्र उक्त सूचीमा परेकाले यो निर्माण ठेक्का उसैले पाउने निश्चित रहेको जनाइएको छ ।
सहरी विकास मन्त्रालय, लगानी बोर्डको कार्यालय र उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा सो निर्माण ठेक्का चिनियाँ कम्पनीलाई दिने तयारी गरिरहेको छ । २०७६ देखि नै लगानी बोर्डले उक्त कम्पनीलाई प्रस्ताव पेशका लागि आरएफपी माग गर्ने तयारी गरिरहेको थियो ।
चिनियाँ कम्पनीले आरएफपी प्रस्तावमा बाहिरी चक्रपथ कसरी निर्माण गर्ने, कतिमा निर्माण पूरा गर्न सकिन्छ, कहाँ के परिवर्तन गर्नु पर्छ र उसले कति समयमा काम सक्न सक्छ लगायतका जानकारीहरु उल्लेख गर्नुपर्नेछ ।
उक्त प्रस्ताव आएपछि भौतिक पूर्वाधार र टेक्नीकल कमिटीबाट सो प्रस्तावको अध्ययन हुने बोर्डले जनाएको छ । त्यसपछि उक्त प्रस्तार उपत्यका विकास प्राधिकरण मार्फत मूल्यांकनका लागि मन्त्रालयमा जाने छ । बाहिरी चक्रपथको निमार्ण लागत १ खर्ब ८३ अर्ब १ करोड रुपैयाँ अनुमान गरिएको छ ।
सरकारको प्राथमिकतामा नपरेको बाहिरी चक्रपथ
उपत्यका विकास प्राधिकरणका योजना प्रमुख दिलिप भण्डारीका अनुसार बाहिरी चक्रपथको काम लगानी बोर्डले लगानी जुटाउनका लागि मात्र लिएको हो । लगानी आएपछि सो काम विकास प्राधिकरणले आफै हेर्ने छ ।
बाहिरी चक्रपथ ५० मिटर चौडाको बनाइने छ । जसमा ८ लेन सडक सहित साइकल लेन, हरियाली बेल्ट, फूटपाथ तथा आपाङरग मैत्री पेटीको समेत व्यवस्था गरिएको छ ।
विगतमा सो सडक निर्माण सरकारको प्राथमिकता क्षेत्र छुट्याउँदा यो योजना पछि परेको उनी बताउँछन् । ‘त्यस बेला बाहिरी चक्रपथ निर्माण सरकारको उच्च प्राथमिकतामा परेन । हामीले मन्त्रालयमा नेपाल सरकारले लगानी गर्नेगरी प्रस्ताव गरेका थियौँ तर, सरकारले आफै लगानी गरेर लगानी गर्न नसक्ने भएपछि लगानी प्रस्ताव भएको हो,’ उनले भने, लगानी बोर्डलाई लगानी जुटाउन दिइयो तर, अझै केही हुन सकेको छैन ।’

बाहिरी चक्रपथ बनाउन २०७४ सालमा डीपीआर बनेको थियो । लगानी बोर्डका अनुसार सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा बाहिरी चक्रपथ निर्माण गरिने छ ।
सो चक्रपथ निर्माणका लागि आर्थिक वर्ष २०५६/५७ मा नै नेपिकोन भन्ने संस्थाले पूर्व सम्भाव्यता अध्ययन गरेको थियो । आर्थिक वर्ष २०६१/६२ को बजेट वक्तव्यमा ‘व्यवस्थित जग्गा एकीकरणका आधारमा काठमाडौँ उपत्यकामा बाहिरी चक्रपथको निर्माण कार्य आर्थिक वर्ष २०६१/६२ देखि नै प्रारम्भ गरिने छ’ भनी बजेट भाषणमार्फत घोषणा भएको थियो । त्यसपछि यससम्बन्धी कार्य प्रारम्भ भएको हो ।
यसअघि उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न २०५० सालमा सरकारद्वारा गरिएको अध्ययनले बाहिरी चक्रपथको आवश्यकता औँल्याएको थियो ।
चक्रपथ निर्माणका चुनौती
बाहिरी चक्रपथ निर्माणका क्रममा प्राविधिक आर्थिक चूनौतीहरु धेरै आउन सक्ने सम्भावना रहेका छन् । बाहिरी चक्रपथ निर्माणका क्रममा ल्याण्ड पुलिङ एउटा चुनौतीको रुपमा रहेको छ भने त्यसको पुरानो संरचना अर्को चुनौती रहेको छ ।
७१.९३ किलोमिटर लामो बाहिरी चक्रपथ निर्माणका लागि सडकको केन्द्रबाट दायाँ–बायाँ २५० मिटर जग्गा ल्यान्डपुलिङमार्फत लिनुपर्ने छ ।
सो सडक ५० मिटर चौडाको बनाइने छ । लिइएका जग्गामा आवश्यक सबै भौतिक संरचना निर्माण गरिने छ । बाहिरी चक्रपथमा ८ लेन सडक सहित साइकल लेन, हरियाली बेल्ट, फूटपाथ तथा आपाङरग मैत्री पेटीको समेत व्यवस्था गरिएको छ ।