काठमाडौं । प्रयोगमा आएको डेढ वर्षसम्म आकर्षण नदेखिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को अनलाइन प्रणालीप्रति पछिल्लो समय लगानीकर्ताको आकर्षण देखिन थालेको छ ।
लकडाउनका कारण चैत १० देखि ३ महिना बन्द भएर बजार असार १५ देखि बजार खुलेको थियो । बजार खुले पनि ब्रोकर कार्यालयको स्क्रीन रुममा बसेर सेयर कारोबार गर्न नपाउने भएपछि लगानीकर्ता अनलाइन प्रणालीतर्फ आकर्षित हुन थालेका हुन् ।
२०७५ मंसिर २० मा ठूलो तामझामका साथ नेप्सेले प्रयोगमा ल्याएको अनलाइन प्रणाली झन्झटिलो रहेको भन्दै लगानीकर्ता अकार्षित हुन सकेका थिएनन् । तर, ब्रोकर कार्यालयमा गएर कारोबार गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने सम्भावना भएपछि लगानीकर्ता यसप्रति आकर्षित हुन् थालेका हुन् ।
कतियप लगानीकर्ताले यसको प्रयोग गर्ने तरिका नजान्नु, बेला बेलामा अनलाइन सिस्टममा समस्या आउनु, न्यूनतम २५% रकम ब्रोकरको खातामा अग्रिम जम्मा गर्नुपर्ने लगायत कारणले नेप्सेको अनलाइन प्रयोगकर्ता बढ्न सकेका थिएनन् । तर, अहिले ब्रोकरमा गएर सेयर कारोबार गर्दा कारोना सर्ने जोखिम बढेपछि यसका प्रयोगकर्ता बढ्न थालेका हुन् ।
नेप्सेले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार साउन १६ गतेसम्म कुल अनलाइन प्रयोगकर्ता (अनलाइन सेयर किनबेचका लागि युजर नेम र पासर्वड लिएका)को संख्या ४७ हजार २६ जना पुगेका छन् । यो कुल सक्रिय लगानीकर्ताको करिब १८ प्रतिशत हो भने कुल लगानीकर्ताको लगानीकर्ताको करिब ३ प्रतिशत हो ।
नेप्सेका अनुसार अहिले दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या २ लाख ६४ हजार ६३३ जना रहेका छन् । यस्तै सीडीएससीका अनुसार असार मसान्तसम्ममा डिम्याट (हिताग्राही) खाता खोल्नेको संख्या १७ लाख नाघेको छ ।
असार ३० गतेसम्म कुल अनलाइन प्रयोगकर्ताको संख्या ३३ हजार ४२९ थियो । साउन लागे यता औसतमा दैनिक ८५० जना अनलाइन प्रयोगकर्ता थपिएको नेप्सेले जनाएको छ । साउन लागेयताका १६ दिनमा मात्रै १३ हजार ५९७ अनलाइन प्रयोगकर्ता थपिएका छन् । नेप्सेका अनुसार असार ३० गतेसम्म अनलाइन प्रयोगकर्ताको संख्या ३३ हजार ४२९ जना थिए । यस्तै, गत मंसिरसम्ममा यस्तो संख्या जम्मा करिब १५ हजार हाराहारी मात्र थिए ।
विगतमा कतियप लगानीकर्ताले यसको प्रयोग गर्ने तरिका नजान्नु, बेला बेलामा नेप्सेको अनलाइनमा समस्या आउनु, अपेक्षा अनुसार बजारले गति लिन नसक्नु, न्यूनतम २५ प्रतिशत रकम ब्रोकरको खातामा अग्रिम जम्मा गर्नुपर्ने लगायत कारणले नेप्सेको अनलाइन प्रणालीप्रति लगानीकर्ता आकर्षित हुन् सकेका थिएनन् ।
तर, पछिल्लो समय कोरोनाका कारण ब्रोकर कार्यालयमै आएर कारोबार गर्दा संक्रमणको जोखिम बढ्ने र ब्रोकरको स्क्रीन रुमसमेत बन्द भएकाले अनलाइनको युजर आइडी र पासवर्ड लिनेको संख्या ह्वात्तै बढेको ब्रोकरहरु बताउँछन् । ‘विगतमा अनलाइनमार्फत भन्दा ब्रोकरमै आएर कारोबार गर्न रुचाउने लगानीकर्ता समेत अहिले अनलाइनबाटै कारोकार गर्न थालेका छन,’ एक ब्रोकरका सञ्चालकले भने, ‘साउन लागेपछि त अनलाइन कारोबारकर्ता ह्वात्तै बढ्न थालेका छन्, अहिले युजरआडी लिन आउनको घुइँचो लाग्ने गरेको छ ।’
पछिल्लो समय सेयर बजारले क्रमशः गति लिन थालेपछि पनि लगानीकर्ता अनलाइनप्रति आकर्षित हुन् थालेका बताइएको छ । ‘बजार बढेको बेलामा सेयर किन बेचका लागि ब्रोकर कार्यालयमा भीड हुने र फोन गर्दा समेत समयमै रेस्पोन्स नहुँदा भाउ बढेको बेला सेयर बेच्न सकिँदैन,’ एक लगानीकर्ताले भने, ‘नेप्सेको अनलाइन छिटो, छरितो छैन भन्ने थाहा हुँदाहुँदै पनि आफ्नो सहजताका लागि अनलाइन प्रयोग गर्न थालेको हुँ ।’
पछिल्लो समय कोरोनाले गर्दा अधिकांश क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको परिप्रेक्ष्यमा सेयर बजारमा पनि यसको प्रयोकर्ता बढ्न थालेका हुन् । अनलाइन मार्फत आफैले चाहेको बेलामा सजिलै सेयर किनबेच गर्न सकिने भएकाले लगानीकर्ता यसको प्रयोग गर्न थालेका हुन् ।
घट्टा जस्तै घुमी मात्रै रहने अनलाइन प्रणाली
पछिल्लो समय अनलाइन प्रयोगकर्ताको संख्या ह्वात्तै बढेपनि प्रयोगकर्ताले भने यसको सेवाप्रति तीव्र असन्तुष्टि जनाएका छन् । नेप्सेको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा प्रायः आइरहने अनेकौं समस्याले आफूहरुलाई हैरानी बनाएको प्रयोगकर्ताले गुनासो छ ।
अहिले नेप्सेको अनलाइनमार्फत कारोबार गरिरहेकाहरुका यो सिस्टममा मार्केट डेप्थ नखुल्ने, रियल टाइम डाटा नदेखाउने, सेयर किनबेचका लागि अर्डर गरेको मिनेटौंपछि मात्र कारोबार हुने, टीएमएस प्रणाली नखुलेर घुमिरहने जस्ता समस्या रहेका छन् ।
नेप्सेले अनलाइन प्रणाली प्रयोगमा ल्याउँदा १८ करोड र त्यपछि पटकपटक सिस्टम अपडेट गर्न गरी अहिलेसम्म करिब २५ करोड खर्च गरिसके पनि यसको प्रभावकारीता भने नगन्य रहेको प्रयोगकर्ताको आरोप छ ।
अहिले नेप्सेको अनलाइनमार्फत कारोबार गरिरहेकाहरुका यो सिस्टममा मार्केट डेप्थ नखुल्ने, रियल टाइम डाटा नदेखाउने, सेयर किनबेचका लागि अर्डर गरेको मिनेटौंपछि मात्र कारोबार हुने, टीएमएस प्रणाली नखुलेर घुमिरहने जस्ता समस्या रहेको सेयर बजारका सक्रिय लगानीकर्ता नरेश पोखरेल बताउँछन् ।
‘अहिलेको नेप्सेको अनलाइन सेवा नाम मात्रैको रहेको छ । घटौंसम्म घुमिरहन्छ । यसले बढ्दो प्रयोगकर्तालाई सेवा दिन सक्दैन,’ उनले भने, ‘यदि लगानीकर्तालाई साँच्चिकै अनलाइन सेवा दिने हो भने नेप्सेले नयाँ सफ्टवेयर ल्याउनुको विकल्प छैन ।’
यस्तै, नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिकाप्रसाद पौडलले नेप्सेको अनलाइनले दिएको हैरानी बारे सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोखेका छन् । ‘घण्टौं घट्ट झैं घुम्छ बा ! लौ न साथीहरु यो टीएमएस हो कि तमसा, बुझनै सकिएन । कठै बरा पूँजीबजारका हामी लगानीकर्ता,’ उनले लेखेका छन् ।
उनीहरु जस्तै अहिले नेप्सेको अनलाइन प्रयोग गर्ने अधिकांश लगानीकता यसप्रति असन्तुष्टि रहेको छ । नेप्सेले अनलाइनका नामा करोडैं बजेटसकेको तर, छिटो, छरितो र प्रभावकारी सेवा दिन नसकेको प्रयोगकर्ताको गुनासो छ ।
यता, नेप्सेले भने पहिलाको तुलनामा अनलाइन प्रणालीमा धेरै सुधार गरी छिटो र प्रभावकारी बनाइएको जनाएको छ । अनलाइन प्रणालीमा अझै केही समस्या रहेपनि त्यसलाई जतिसक्दो चाँडो समाधान गर्ने प्रयास भइरहेको नेप्सेको भनाइ छ ।