काठमाडौं । गत आर्थिक वर्षमा खानेपानी मन्त्रालयको समग्र भौतिक प्रगति ८० प्रतिशत पुगेको छ ।
मन्त्रालय अन्तर्गत १४ आयोजना सम्पन्न हुँदा १ लाख ९० हजार २९२ जनसङ्ख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएका छन् ।
मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायले आव २०७६/७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिबारे तेस्रो चौमासिक एवं वार्षिक समीक्षा बैठकमा सहसचिव अरुण सिंखडाले गत आवमा समग्र भौतिक प्रगति ७३ र वित्तीय प्रगति ७८ प्रतिशत रहेको बताए।
खानेपानी तथा ढल व्यवस्थापन विभागको खानेपानी विभागअन्तर्गत रहेका खानेपानी सेवा विस्तार तथा पुनःस्थापना कार्यक्रमको भौतिक प्रगति ८७, खानेपानी गुणस्तर सुधार कार्यक्रमको प्रगति ८९, तेस्रो साना सहरी खानेपानी आयोजनाको प्रगति ७६ र सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको प्रगति ७३ प्रतिशत रहेको महानिर्देशक सुनिलकुमार दासले जानकारी दिए ।
त्यसैगरी राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९२.८८ प्रतिशत रहेको बैठकमा जानकारी गराइयो । मेलम्ची आयोजनाले गएको आवको अवधिमा हेडवक्र्स डाइभर्सन सुरुङ सञ्चालन गरिएको र समग्र हेडवक्र्सको काम ७० प्रतिशत सकिएको जनाएको छ ।
आव २०७६/७७ मा ५४ वटा क्रमागत सहलगानीका आयोजनामध्ये ६ वटा सम्पन्न भई ४६ हजार ५३४ जनसङ्ख्या लाभान्वित भएका छन् ।
तेस्रो साना सहरी खानेपानी आयोजनाअन्तर्गत दुई आयोजना सम्पन्न भई ५० हजार ५७० लाभान्वित भएको र खानेपानी गुणस्तर सुधार कार्यक्रम अन्तर्गत निर्माणाधीन ६१ आयोजनामध्ये चारवटा सम्पन्न भई करीब ६१ हजार ७४३ जनसङ्ख्या लाभान्वित भएको जानकारी मन्त्रालयका सहसचिव सिंखडाले दिए ।