अघि बढ्दै निजगढ विमानस्थलको काम, कन्सलटेन्ट छनोट प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय गौरव आयोजना अन्तर्गत बाराको निजगढमा निर्माण हुने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढेको छ ।

 

चर्चा र विवादकै बीच विमानस्थल निर्माणको मास्टर प्लान बनाउनका लागि कन्सलटेन्ट छनोट प्रक्रिया अघि बढाइएको हो ।

 

आयोजनाले कन्सलटेन्ट छनोटका लागि आवेदन माग गरी छनोटको प्रक्रिया समेत अगाडि बढाइसकेको छ । आयोजनाको मास्टर प्लान बनाउन ६ कम्पनीले प्रस्ताव पेश गरेका थिए । ती मध्ये ३ कम्पनीले रिक्वेस्ट फर प्रपोजल (आरएफपी) बुझाएको निजगढ विमानस्थल आयोजना प्रमुख प्रदीप अधिकारीले जानकारी दिए ।

 

कन्सलटेन्ट छनोट भइसकेपछिको १६ महिनामा सबै रिपोर्ट तयार हुने उनले बताए । उनका अनुसार अबको एक हप्तामा कन्सलटेन्ट समेत छनोट भइसक्ने छन् ।

 

‘अहिले कन्सलटेन्ट छनोटको काम भइरहेको छ, एक हप्ता जतिमा कुन कम्पनीलाई दिने थाहा हुन्छ, सार्वजनिक निजी साझेदारी (पीपीए) मोडेल अन्तर्गत भए पनि विमानस्थल बनाउने छौँ,’ आयोजना प्रमुख अधिकारीले चाणक्य पोष्टसँग भने ।

 

उनका अनुसार विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र मोडालीटी बनाउनका लागि पनि कामहरु भइरहेका छन् ।आयोजना निर्माणका लागि अधिग्रहण गरिएको जग्गामध्ये ११० बिघाभन्दा बढी जमिनको मुआब्जा वितरण भइसकेको अधिकारीले जानकारी दिए ।

 

मुआब्जा वितरणका क्रममा १४४ जनालाई ४४ करोड रुपैयाँ भन्दा बढी मुआब्जा वितरण गरिएको आयोजनाका इन्जिनीयर तथा आयोजना इन्चार्ज विजय यादवले जानकारी दिए ।

 

यस्तै गत आर्थिक वर्ष २०७६/७७ सम्ममा विमानस्थलको क्षेत्र छुट्याउने, पूर्वपश्चिम नदी तय गरिएको छ । उत्तरमा हाइवेलाई यसको बोडर मानिएको छ । विमानस्थलको बोडर छुट्याउन समेत छुट्टै टेन्डर भइसकेको उनले जानकारी दिए ।

 

रुख कटानमा अदालतको रोक

 

सरकारले विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाए पनि अदालतले भने रुख कटान नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

 

पहिलो चरणमा १९ सय हेक्टरभित्र पर्ने रुखहरुको संख्या किटान गरेर वन मन्त्रालयले भनेपछि मात्र रुख कटान सुरु गरिने आयोजनाले जनाएको छ ।

 

निजगढ विमानस्थल निर्माणमा ईआइए प्रतिवेदन अनुसार २५ लाख रुख कटान गर्नुपर्ने देखिन्छ । त्यो हेर्दा यदि २५ लाख रुख काटिएमा एउटा रुख बराबर २५ रुख रोप्नु पर्ने छ ।निजगढ विमानस्थल निर्माणका क्रममा अदालतले स्वीकृती दिए रुखकटान चाँडै सुरु गरिने उनले बताए ।

 

‘हामी पूर्व तयारीको काम गरिरहेका छौँ, लकडाउनका कारण धेरै काम अघि बढ्न सकेन, अब लक डाउन सहज भएसँगै कामले गति लेला,’ आयोजना इन्चार्ज यादवले चाणक्य पोष्टसँग भने ।

 

पर्यटनमन्त्री भट्टराई भन्छन् : ५ वर्षभित्रै विमानस्थल बनाउँछौँ

 

संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल ५ वर्षभित्र निर्माण गर्ने बताउँदै आएका छन् । उनले निजगढ विमानस्थल ‘गेम चेन्जर प्रोजेक्ट’ भएको भन्दै अबको ५ वर्ष भित्र जसरी भएपनि निर्माण सम्पन्न गर्ने गरी काम गर्ने बताएका छन् ।

 

‘निजगढ विमानस्थल गेमचेन्जर प्रोजेक्ट हो, त्यसलाई कुनै पनि हालतमा ५ वर्षभित्र व्यवसायिक उडान गर्नेगरी सम्पन्न गर्नुपर्ने छ,’ मन्त्री भट्टराईले भने ।

सेयर बजार पहिरो, घट्दो बजारमा पनि ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

सेयर बजार पहिरो, घट्दो बजारमा पनि ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

तंग्रिँदै पोखराको पर्यटन व्यवसाय, चहलपहल बढ्न थालेपछि २५ प्रतिशत मजदूर काममा फर्किए Read Next

तंग्रिँदै पोखराको पर्यटन व्यवसाय, चहलपहल बढ्न थालेपछि २५ प्रतिशत मजदूर काममा फर्किए