सैनिक कल्याणकारी कोषको सम्पत्ति साढे ५१ अर्ब पुग्यो, १ वर्षमै थपियो ७ अर्ब

काठमाडौं । सैनिक कल्याणकारी कोषको लगानीसमेत यथार्थ सम्पत्ति ५१ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

 

शान्ति सेनामा सहभागी भएबापत प्राप्त करिब १ करोड २४ लाख एक हजार रकमबाट विसं २०३२ मा खडा गरिएको उक्त कोषमा अहिले करिब ४५ अर्ब ८७ करोड रुपैयाँ नगद मौज्दात छ । कोषको यो तथ्याङ्क गत असार मसान्तसम्मको हो ।

 

कोषबाट सञ्चालित विभिन्न कल्याणकारी कार्यमा अहिले ५ अर्ब ७४ करोड लगानी छ । शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम नै कल्याणकारी कोषको मुख्य आयस्रोत हो ।

 

अहिले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका १२ वटा शान्ति मिसनमा ५ हजार ९१ नेपाली शान्ति शैनिक परिचालित छन् । धेरै शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल अहिले चौथो वरियतामा छ । राष्ट्रसङ्घबाट अनुरोध भई आएमा १० हजारको सङ्ख्यामा शान्ति सैनिक पठाउन सक्ने नेपालले प्रतिबद्धता जनाइसकेको छ ।

 

एकै आवमा ७ अर्ब २९ करोड वृद्धि

 

उक्त कोषको यथार्थ सम्पत्तिमा गत आवमा करिब ७ अर्ब २९ करोड वृद्धि भएको छ । विसं २०७६ असार मसान्तमा उक्त कोषको यथार्थ मौज्दात ४४ अर्ब २१ करोड ९० लाख ४० हजार थियो ।

 

संयुक्त राष्ट्रसङ्घबाट आउन बाँकी मध्ये करिब ३ अर्ब ५० करोड रकम गत आर्थिक २०७६/७७ मा नै प्राप्त भएको थियो । राष्ट्रसङ्घको आह्वानमा विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खडा गरिएका ४३ वटा शान्ति मिसनमा रही हालसम्म एक लाख २९ हजार ११७ नेपाली सैनिकले शान्तिका लागि योगदान पुर्याइसकेका छन् ।

 

नेपाली सेनाले शान्ति मिसनमा लगानी गरेको तथा खटिएबापत पाउनुपर्ने करिब ३ अर्ब राष्ट्रसङ्घबाट अझै प्राप्त गर्न बाँकी नै थाहा भएको छ ।

 

बैँक तथा वित्तीय संस्थामा रहेको कोषको मूलधनको निक्षेपबाट प्राप्त ब्याज, सैनिक स्वास्थ्य विज्ञान संस्थान र विद्यालयबाट प्राप्त हुने शिक्षण शुल्क, पारिवारिक आवास भाडा रकम, सुनाचुरी इममल्सन प्लाण्ट, रिपूमर्दिनी अक्सिजन प्लान्टबाट उपलब्ध रकम कोषका मुख्य तथा विविध आय स्रोत हुन ।

 

कोषको नगद मौज्दात मुलुकका विभिन्न एक दर्जन भन्दाबढी विभिन्न बैंकमा रहेको छ । विदेशी मुद्रा सटही प्रिमियम र मेडिकल सेवा उपलब्ध गराएबापत प्राप्त हुने रकम पनि कल्याणकारी कोषमा आउँछ ।

 

उक्त कोषको रकम सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिक र निजका आश्रित परिवारको जीवनस्तर उकास्ने कल्याणकारी कार्य, सेनाका आवश्यकताका सामग्रीको आपूर्ति र उत्पादन र शान्ति सेनामा सम्मिलित हुन जाँदा आवश्यक पर्ने समान र खर्चका लागि प्रयोग हुँदै आएको छ ।

रिलायन्स लाइफले पायो ६३ करोडको आइपीओ निष्काशन गर्न अनुमति Read Previous

रिलायन्स लाइफले पायो ६३ करोडको आइपीओ निष्काशन गर्न अनुमति

कौसी खेतीबाटै मासिक ५० करोडको तरकारी Read Next

कौसी खेतीबाटै मासिक ५० करोडको तरकारी