धरहरा पुनःनिर्माणको काम धमाधम हुँदै, ११ औं तलाको ढलान सम्पन्न
चाणक्य पोष्ट
प्रकाशित : 11:56 am, बिहीबार, साउन १५, २०७७

काठमाडौं । लकडाउन हटेसँगै धरहरा निर्माणले गति लिएको छ । अहिलेसम्म धराहराको ११ औं तलाको ढलान सकिएको छ । अघिल्लो हप्तादेखि सुरु भएको ११ औं तलाको ढलान बुधबार सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

 

लकडाउन हटेसँगै उपत्यका बाहिर गएका कामदार पनि फर्किएकाले कामले गति लिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरका अनुसार ११ तलाको ढलान भएसँगै हाल धरहराको ४० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

 

यी काम सकिँदासम्म १ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । अहिले करिब २०० भन्दा बढी कामदारले काम गरिरहेको उनले बताए ।लकडाउनका कारण बीचमा धरहरा निर्माण केही सुस्त भएपनि अहिले पुनः गति लिएको हो ।

 

वि.सं. २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको धरहरा पुनःनिर्माणका लागि गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणका लागि शिलान्यास गरेका थिए । सोही समयमा प्रधानमन्त्रीले धरहरामा इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट निर्माण गर्ने बताएका थिए । । हाल सोहीअनुरुप निर्माण भइरहेको निर्माण कम्पनीले बताएको छ ।

 

पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुईवटा लिफ्ट पनि हुनेछन् । साथै एउटा परम्परागत भर्याङ रहनेछ । लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्ट्रक्सनले निर्माण शुरु गरेको धरहरा निर्माणमा ३ अर्ब ४८ करोड लागत लाग्ने बताइएको छ । धरहरा २२ तलाको र ७२ मिटर अग्लो हुनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् ।

 

नयाँ धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारीसाधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुनेछ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाको भनाइ छ ।

 

धरहराको १८ औँ तलामा अवलोकलन कक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुराँका साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिने छ । जहाँ ३५० गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ । ११ तले धरहरा विसं १९९० को भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तला रहेको थियो । ऐतिहासिक धरोहर सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए ।