सेयर बजारका लगानीकर्ता माथि नेप्सेको अर्को खड्ग प्रहार
चाणक्य पोष्ट
प्रकाशित : 2:17 pm, बुधबार, साउन १४, २०७७

काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से)ले हिजो एउटा विज्ञप्ति निकाल्यो । उक्त विज्ञप्तिलाई कतिपय मिडियाहरुले नेप्सेमा ह्याकरको हमला भनेर बुझे र सोही अनुरुप समाचारहरु बनाए ।

 

तर, नेप्सेको उक्त विज्ञप्ति वास्तवमा ह्याकरतर्फ लक्षित नभई ‘रियल टाइम डाटा फिड’ लिएर लाइभ चार्टहरु बनाउने विभिन्न कम्पनीहरुतर्फ लक्षित थियो । नेप्सेको रियल टाइम डाटा लिएर हाल बजारमा ट्रेडरहरुले कारोबार गरिरहेका छन् ।

 

बजारमा धेरै थरिका लगानीकर्ताहरु हुन्छन् । यस्ता लगानीकर्तालाई मूलरुपमा छोटो समयका लागि कारोबार गर्ने ट्रेडर र लामो समयको लागि कारोबार गर्ने इन्भेष्टरको रुपमा छुट्याउन सकिन्छ ।

 

लकडाउन पछि प्लेजडमा राखिएको सेयर फुकुवा नगरी बेच्न नपाउने व्यवस्थाले ट्रेडरहरुले प्रयोग गर्दै आएको हतियार मार्जिन लोनको मर्म माथि नै प्रहार गरिदिएको थियो । अहिले फेरि ट्रेडरहरुले प्रयोग गर्दै आएको अर्को महत्वपूर्ण हतियार रियल टाइम डाटा तान्न नपाउने व्यवस्था नेप्सेले गरेको छ ।

 

छोटो समयका लागि लगानी गर्ने कारोबारीहरु छिटो छिटो कारोबार गर्ने गर्छन । उनीहरुको मुख्य सूचकहरु भनेको नेप्सेमा कारोबार भइरहेको समयमा बन्ने विभिन्न खाले चार्टहरु हुन् । यस्ता चार्टहरु हेरेर उनीहरु प्राविधिक विश्लेषण गर्ने गर्दछन् ।

 

त्यस्तै, लामो समयका लागि लगानी गने लगानीकर्ताहरु कम्पनीको विवरण, अवस्था, कम्पनी सञ्चाल विधि र प्रक्रिया, कम्पनीका प्रमोटरहरु लगायत विषयहरुमा केन्द्रित भएर लगानी गर्ने गर्छन् । उनीहरुले आफूले रोजेको सेयरबाट आउने प्रतिफलमा मुख्य रुपमा केन्द्रित हुन्छन् । बजारको उतारचढावले दिने नाफा उनीहरुको मुख्य सरोकारको विषय होइन ।

 

बजारलाई गतिशील बनाइराख्नका लागि यी दुवै खाले लगानीकर्ताको उल्लेखनीय भूमिका हुने गर्दछ ।बजारमा ट्रेडर नहुने हो भने आहिलेको जस्तो आकारमा दैनिक कारोबार हुन संभव हुँदैन । बजार चलायमान र जीवन्त हुन संभव हुँदैन । बजारमा अहिले भइरहेको नियमित अर्ब माथिको कारोबारको ठूलो हिस्सा टेड्ररहरुको रहने गरेको छ ।

 

तर, हालका दिनमा नेप्से तथा धितोपत्र बोर्डको निर्णयहरुले ट्रेडरहरुलाई हतोत्साहित गर्ने काम गरेको छ । लकडाउन पछि खोलिएको बजारमा ट्रेडरहरुले उपभोग गरिरहेको मार्जिन लोनलाई असहज बनाउने काम भएको थियो । प्लेजमा राखिएको सेयर फुकुवा नगरी बेच्न नपाउने व्यवस्थाले ट्रेडरहरुले प्रयोग गर्दै आएको हतियार मार्जिन लोनको मर्म माथि नै प्रहार गरिदिएको थियो ।

 

अहिले फेरि ट्रेडरहरुले प्रयोग गर्दै आएको अर्को महत्वपूर्ण हतियार रियल टाइम डाटा तान्न नपाउने व्यवस्था नेप्सेले गरेको छ । यो डाटा नभइ ट्रेडरहरुले प्राविधिक विश्लेषण गरेर दैनिक सेयर कारोबार गर्न संभव नै हुँदैन ।

 

यो निर्णयले नेप्सेलाई उल्टोबाटो हिँडाउन खोजेको टिप्पणी सेयर बजारलाई नजिकबाट नियाली रहेको विश्लेषक विष्णुप्रसाद बस्याल गर्छन् । उनका अनुसार विश्वका सबै स्टक एक्चेन्जहरुले लाइभ डाटा फिड विभिन्न संस्थाहरुलाई निश्चित मूल्यमा विक्री गर्ने गर्छन् । यसले ट्रेडरहरुलाई सेयर बजारका चार्टहरुको चुस्त विश्लेषण गरेर लगानी बढाउन सहयोग पुर्याउने उनी बताउँछन् ।

 

‘अहिले सारा विश्व प्रविधिमामा ४ कदम अगाडी बढ्ने प्रयास गरिरहेको समयमा हाम्रो नेप्से भने २ कदम पछाडि सरेको छ,’ वस्याल भन्छन् ।

 

पछिल्लो समय नेप्से र धितोपत्र बोर्डले एउटा समस्याको समाधान गर्नका लागि कुनै व्यवस्था गर्दा अर्को समस्या थप्ने गरेको उदाहरणहरु प्रशस्तै देखिन थालेका छन् ।

 

तर, नेप्से स्रोत भने कार्यविधि बनाएर यस्तो डाटा निश्चित शुल्क लिएर बेच्ने तयारी गरिरहेको बताउँछ । ‘हामीले डाटा नदिने भनेका छैनौं । अहिले त्यसको गलत प्रयोग बढेको हुनाले कार्यविधि नबनुन्जेलसम्मको लागि यो प्रक्रिया रद्द गरेका हौं’, नेप्से स्रोतले भन्यो ।

 

यदि नेप्सेले लाइभ फिड डाटा बेच्ने योजना बनाएको हो भने पहिला त्यो प्रक्रिया शुरु गरेर मात्र यस्ता विज्ञप्ती निकालेको भए राम्रो हुने थियो । कुनै पनि निर्णय गर्दा पहिला आवेशमा आएर चलिआएको प्रक्रिया ठप्पै बन्द गर्दिने अनी अर्को व्यवस्था पछि गर्दै गरौंला भन्ने जस्तो अपरिपक्व प्रशासनिक प्रक्रियाले धितोपत्र बजार अहिलेको विश्वमा कसरी पो अघि बढ्ला र ?