कोभिड–१९ सङ्क्रम नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीपछि झण्डै ५ महिना मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान प्रायः ठप्प हुने भयो ।
सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन यही साउन ६ गते अर्थात् १२० दिनपछि बन्दाबन्दी अन्त्य भएको घोषणा गर्यो । उक्त अवधिसम्म मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुवै उडान सेवामा व्यावसायिकबाहेकका चार्टर्ड र कार्गो उडान भए ।
सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडानका वायुसेवा कम्पनीले बुकिङ खुलाएर उडानको धमाधम तयारी गरिरहेका छन् ।
कोभिडपछिको सुरक्षित हवाईयात्राका लागि सुरक्षा प्रोटोकल पालना गर्दै ती एयरलाइन्सले आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग तथा जोखिमरहित यात्राका लागि अभ्यास उडानसमेत गरिसकेका छन् ।
देशकै अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्धएयरले दुई महिनादेखि सुरक्षित उडानको आवश्यक सबै किसिमको तयारी गरिसकेको छ भने यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीले पनि आफ्नो तयारीलाई तीव्रता दिएका छन् ।
सुरक्षित उडानको तयारीसँगै ठूला एयरलाइन्सले धमाधम बुकिङ खुलाएका छन् । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि कुन एयरलाइन्सले कति उडान तथा कुन–कुन गन्तव्यमा उडान गर्ने भन्नेर छिट्टै औपचारिक निर्णय गर्दैछ ।
दैनिक ७० उडान
कोभिडको जोखिमलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा एकतिहाई मात्र उडान हुनेछ । आन्तरिक तथा अन्तर्राष्ट्रिय करिब झण्डै ५०० उडान हुने अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ दैनिक १५ र आन्तरिकतर्फ ४० देखि ५० उडान हुने विमानस्थले जनाएको छ ।
लकडाउनमा पनि दैनिक १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको थियो । आन्तरिकतर्फ पनि बढीमा १६ उडान भएको विमानस्थलमा भदौ १ गतेपछि दैनिक दुवैतर्फ गरी ७० हाराहारी उडान हुने जनाइएको छ ।
कुन एयरलाइन्सका कति उडान
कोभिड सङ्क्रमणको जोखिम कायमै भएकाले अन्तर्राष्ट्रिय विमानस्थलमामा अहिलेलाई एकतिहाइ क्षमतामा मात्रै उडान हुनेछ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार दैनिक औसत १५ सम्म अन्तर्राष्ट्रिय र बढीमा ५० आन्तरिक उडान हुने गरी सरोकारवालासँग छलफल चलिरहेको छ । प्राधिकरण र वायुसेवा सञ्चालकको छलफलले कुन गन्तव्यमा कति उडान गर्नेबारे निर्णय हुनेछ ।
प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले आन्तरिक उडानको तालिका मोटामोटी टुङ्गिए पनि विदेशी एयरलाइन्सको कति सङ्ख्यामा उडान हुने भन्ने निर्णय भइनसेको बताए ।
उनका अनुसार वायुसेवा सञ्चालक र प्राधिकरणबीच बिहीबार भएको सहमतिमा बुद्धएयरलाई १७, यती एयरलाइन्सलाई ११ र श्री एयरलाइन्सलाई ८ उडान गर्न अनुमति दिइएको छ ।
सौर्य, सीता, सिम्रिक र समिट एयरको कति उडान भन्ने टुङ्गो लागेको छैन । विमानस्थलमा एक घण्टामा ३५० यात्रुलाई मात्र उडान गर्ने सहमति भएको छ । थोरै जहाज भएका र दुर्गम क्षेत्रमा उडान गर्दै आएका एयरलाइन्सले कति उडान गर्ने भन्ने विषयमा भने सहमति भइसकेको छैन ।
यो व्यवस्था भदौको पहिलो हप्ताका लागि लागू गर्ने र सोको आधारमा पुनः भदौ ५ गते बैठक बसी निर्णय हुने प्राधिकरणले जनाएको छ । पहिलो हप्ता बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उडानका लागि समय निर्धारण गर्ने सहमति भएको छ ।
यस्तो छ भाडादर
झण्डै ५ महिनापछि हुनलागेको व्यावसायिक उडानका लागि वायुसेवा कम्पनीले गन्तव्यअनुरुप भाडादर निर्धारण गरेका छन् । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेसँगै एयरलाइन्सले टिकट बुकिङ शुरु गरेका छन् ।
बुद्धएयरका अनुसार भदौ १ गतेदेखि शुरु हुने आन्तरिक उडानतर्फका सबै गन्तव्यका लागि टिकट बिक्री शुरु भइसकेको छ । यती र श्रीएयरले पनि छिट्टै बुकिङ खुलाउने तयारी गरेका छन् ।
बुद्धएयरले काठमाडौँबाट भद्रपुर जानका लागि ८ हजार ६३८ कायम गरेको छ । त्यसैगरी भैरहवाका लागि ५ हजार ६५९, भरतपुरका लागि ३ हजार ३४२, विराटनगरका लागि ६ हजार ७१७, धनगढीका लागि १० हजार ९६६ भाडा कायम गरेको छ ।
त्यसैगरी जनकपुरका लागि ३ हजार ८७१, नेपालगञ्जका लागि ९ हजार ३१२, पोखराका लागि ४ हजार ६३०, सिमराका लागि रु दुई हजार ८५२, सुर्खेतका लागि १० हजार २९२ भाडा रुपैयाँ कायम गरेको छ ।
आन्तरिक उडानमा ३४ हेलिकोप्टर तथा ४६ जहाजले उडान भर्छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।