१७ वटा हाइड्रोमा लगानी गर्ने घाटामा, सेयरको भाउ आइपीओभन्दा सस्तो, कुनको मूल्य कति
चाणक्य पोष्ट
प्रकाशित : 9:58 am, आइतबार, साउन ११, २०७७

काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजारले क्रमशः लय समात्दै गएको छ । करिब ४ वर्ष बियरिस ट्रेन्डमा रहेको सेयर बजारले आफ्नो यात्रा बुल ट्रेन्डतिर सारेको अनुमान गर्न थालिएको छ ।

 

लकडाउनका कारण ३ महिनाभन्दा बढी भएको सेयर बजार असार १५ देखि खुला गरिएको थियो । त्यसयता मात्रै बजार सूचक नेप्से करिब २५० अंकले बढेको छ ।पछिल्ला दिनहरुमा सूचक सँगै कारोबार रकम पनि बढ्दै गएको छ । यसले पनि बजार लयमा रहेको देखाउँछ ।

 

अहिले बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ । जसले गर्दा सेयर बजार बजारमा लगानी योग्य रकमको अभाव छैन । साथै बैंकको ब्याजदर पनि विगतका वर्षहरुभन्दा क्रमशः सस्तो हुँदै गएको छ । अधिकांश बैंकको ब्याजदर एकल अंकमा आइसकेको छ । यसले पनि सेयर बजार बढ्न सहयोग पुर्याउने देखिन्छ ।

 

यस्तै, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारमा रहेका अधिकांश समस्या सम्बोधन गर्दै बजारमैत्री व्यवस्था गरिदिएको छ । मौद्रिक नीतिले मार्जिन लेन्डिङ सीमा ५ प्रतिशत बढाएर ७० प्रतिशत पुर्याइदिएको छ भने बैंकहरुलाई नगद लाभांश वितरणमा समेत क्याप लगाइदिएको छ । जसले बजारमा थप लगानी गर्न सहज बनाइदिएको छ । यसरी लगानीकर्ताको मनोबल बढ्ने गरी व्यवस्था गरिदिएसँगै आगामी दिनमा बजारले थप गति लिने आशा गरिएको छ ।

पछिल्लो समय सेयर बजारले अनुकूल वातावरण बन्दै गए पनि दोस्रो बजारमा जलविद्युत् क्षेत्रका कम्पनीहरुको अवस्था भने दयनीय नै रहेको छ । नेप्सेमा सूचीकृत १२ वटा समूहमध्ये अन्य क्षेत्रका कम्पनीहरुको सेयर मूल्य आइपीओको मूल्यभन्दा माथि रहे पनि जलविद्युत् क्षेका अधिकांश कम्पनीको सेयर मूल्य आइपीओभन्दा पनि सस्तो रहेको छ ।

 

अझ कतिपय जलविद्युत् कम्पनीको सेयर मूल्य त आइपीओभन्दा आधा सस्तो छ । अहिले धेरै जलविद्युत् कम्पनीको सेयर मूल्य आइपीओको भाउभन्दा पनि कम मूल्यमा दोस्रो बजारमा किनबेच भइरहेको छ ।

 

हाल नेप्सेमा सूचीकृत ३४ जलविद्युत् कम्पनीमध्ये ५० प्रतिशत अर्थात १७ कम्पनीको सेयर मूल्य आइपीओभन्दा सस्तो मूल्यमा कारोबार भइरहेको छ । करिब आधा दर्जन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५० रुपैयाँभन्दा पनि कम छ ।

 

बिहीबार कारोबार भएका आधारमा अहिले दोस्रो बजारमा सबैभन्दा सस्तो सेयर जोशी हाइड्रोपावरको प्रतिकित्ता ४६ रुपैयाँ रहेको छ । त्यस्तै, खानीखोला, दिव्यश्वरी, आँखुखोला, युनियन हाइड्रोपावरको सेयर मूल्य प्रीतकित्ता ५० रुपैयाँभन्दा कम छ ।

 

अहिले सेयर सूचीकृत जलविद्युत् कम्पनीमध्ये सबैभन्दा महँगो सेयर मूल्य चिलिमे हाइड्रोपावरको रहेको छ । यसको प्रतिकित्ता सेयर मूल्य ४०४ रुपैयाँ रहेको छ । यस्तै हाल दोस्रो बजारमा २०० रुपैयाँभन्दा बढी सेयर मूल्य भएका कम्पनीको संख्या जम्मा ३ वटा रहेका छन् भने १४ वटा कम्पनीको सेयर मूल्य पनि १०० रुपैयाँभन्दा थोरै माथि वा सोही आसपासमा कारोबार भइरहेको देखिन्छ । यी मध्ये थोरै कम्पनीको भने १५० देखि माथि बजार भाउ रहेको छ ।

 

जलविद्युत् क्षेत्रको छुट्टै नियामक निकाय नहुँदा संस्थापकहरुले कमजोर अवस्था भएका कम्पनीहरुको सर्वसाधरणलाई जथाभावी सेयर जारी गरिरहेका छन् । जसले अहिले जलविद्युत् कम्पनीको आइपीओमा लगानी गरेका लाखौं लगानीकर्ताको अर्बौं लगानी घाटामा रहेको छ ।