कामदार अभावमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सुस्त, घर गएका चिनियाँ कामदार फर्केनन्

काठमाडौं । कामदार अभावमा राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुस्त भएको छ ।

 

लकडाउनका कारण घर गएका चिनियाँ कामदार नफर्किँदा विमानस्थलको प्राविधिक कामले गति लिन नसकेको हो । हाल लकडाउन हटे पनि चिनियाँ कामदार आइनपुग्दा आयोजनाले अपेक्षित गति लिन सकेको छैन ।

 

नेपालमा लकडाउन हुनु अगावै घर गएका २४४ चिनियाँ कामदार अझै नफर्किँदा उनीहरुले गर्ने काम अझै पनि रोकिएको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए ।

 

कुल २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको काम २०२१ जुलाई १० सम्म काम सम्पन्न गरिसक्नु पर्नेछ । विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७३७ र एयरबस ३२० वा सो सरहका ठूला जहाजले अवतरण र उडान गर्न सक्नेछन् ।

 

उनका अनुसार चिनिया नयाँ वर्ष मनाउन गएका कर्मचारीहरु कोभिड १९ सुरु भएपछि विमानस्थल बन्द भएकाले उतै अड्कीएका छन् । उनीहरुलाई ल्याउन पहल भइरहे पनि पीसीआर जाँच लगायत कारण ढिलाइ भइरहेको उनले बताए ।

 

आयोजनामा कार्यरत कुल ३४४ कामदार मध्ये २४४ चिनियाँ कामदार छन् । चिनियाँ कामदार नआए पनि नेपाली कामदारले भने काम गरिरहेको उनले बताए । ‘चिनियाँ कामदारहरु फर्काउन सकिएको छै, धेरै काम उनीहरुले गर्दै आएका थिए, भएका नेपाली कामदारहरुबाटै सक्ने काम गरिरहेका छौँ,’ आयोजना प्रमुख मुनकर्मीले चाणक्य पोष्टसँग भने ।

 

गत आर्थिक वर्ष २०७६/७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको छ । लकडाउनका समयमा समेत निरन्तर निर्माण कार्य भइरहेको विमानस्थल ६ महिना अघि नै सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

 

हाल विमानस्थलमा डेकोरेसन र फिनिसिङको काम भइरहेको आयोजना प्रमुख मुनकर्मीले जानकारी दिए । उनका अनुसार आयोजनाले चैत्र १० गतेदेखि नै लकडाउनमा बसेर काम गरिरहेका छन् ।

 

पछिल्लो समय आयोजनामा १ सय जनशक्तिले डेकोरेसन र फिनिसिङ काम गरिरहेको उनले बताए ।‘काम एक दिन पनि रोकिएको छैन तर, गति लिन सकेको छैन, कर्मचारी र काम गर्ने समय थप्ने योजनामा छौँ,’ आयोजना प्रमुख मुनकर्मी भने ।

 

असार १ देखि लकडाउन केही खुकुलो भए पनि कामदारको कमी हुँदा कामले गति लिन नसकेको उनले बताए । समयमै काम सम्पन्न गर्नका लागि काम गर्ने समय समेत थप गरी २ देखि ३ सिफ्टमा काम गर्ने योजना रहेको उनले बताए ।

 

उनले ६ महिना अघि सकाउने योजना राखेकोमा अब तोकिएको समयमा काम पूरा गर्ने गरी भइरहेको बताए । ‘६ महिना अघि निर्माण पूरा गरेर हस्तान्तरण गर्ने सोचेका थियौं , कोभिडका कारण अब तोकिएकै समयमा सक्ने प्रयास गरिरहेका छौँ,’ मुनकर्मीले भने ‘ कर्मचारी थप गरेर सक्दो २ देखि ३ सिफ्टमा काम गरेर भए पनि तोकिएकै समयमा काम सक्ने छौँ ।’

 

चीनको केरुङमा अड्कीएको सामान सडक अवरोध हुँदा रोकिएको छ । वर्षाका कारण बिजुलीका समग्रीहरु चीनको केरुङ नाकामा रोकिएको उनले जानकारी दिए । भारतीय नाकामा रोकिएका सिमेन्ट लगायतका सामग्रीहरु नेपाल भित्रिन थालेकाले केही सहज भएको उनले बताए ।

 

चीनको नाकाबाट इलेक्ट्रीक सामग्रीहरु आउन बाँकी रहेको छ । भारत सिमा कलकताबाट सामग्रीहरु आउन थालेको छ । लकडाउन खुलेपछि पनि सामग्रीहरु आयात गर्न २ महिनाका हाराहारी समय लाग्ने उनले बताए । सामान आएपछि पूरै श्रमिक खटिए ५ महिना भित्र निर्माण सम्पन्न हुने उनको दाबी छ । अझै १४ महिनाका हाराहारीमा निर्माणको म्याद बाँकी रहेकाले अन्तिम मितिसम्म काम सकिने उनले बताए ।

 

कुल २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको काम २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको छ । विमानस्थल निर्माण सन् २०१७ को नोभेम्बर महिनादेखि सुरु भएको हो ।

 

हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओलेने स्थान), नाला निर्माण, ह्याङगर निर्माण लगायतका काम भइसकेको छ ।

 

विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्ने छ । ८ हजार स्क्यार मिटर अन्तर्राष्ट्रिय उडानका लागि ६ हजार स्क्यार मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्यार मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो । वार्षिक ५ लाख क्षमता भएको टर्मिनल भवन निर्माण गरिदै छ ।

 

पोखरा विमानस्थलको निर्माण पूरा भएपछि बोइङ ७३७ र एयरबस ३२० वा सो सरहका जहाज आवतजावत गर्न सक्नेछन् ।

काठमाडौंमा १० सहित थप १३३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार ३७३ पुग्यो Read Previous

काठमाडौंमा १० सहित थप १३३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार ३७३ पुग्यो

४ महिनादेखि बन्द सौराहाका होटल सञ्चालनको तयारीमा Read Next

४ महिनादेखि बन्द सौराहाका होटल सञ्चालनको तयारीमा