काठमाडौं । सरकारले आगामी भदौ १ गतेदेखि नियमित हवाइ उडान खुला गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ गतेदेखि आन्तरिक र बाह्य दुवै सेवाका व्यवसायिक उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले हवाइ उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको छ। सुरक्षाका सबै मापदण्ड अपनाइ हवाइ सेवा सञ्चालन गरिने बताइएको छ ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ देखि लकडाउन लागू गरेसँगै सबै उडानमा रोक लगाएको थियो ।
सरकारले असारदेखि नै विदेशमा अलपत्र नागरिकको उद्धारको लागि चार्टर्ड उडान सुरु गरे पनि व्यावसायीक उडान भने खुला गरेको थिएन । विदेशमा रहेका नागरिकसँग चर्को भाडा लिएर चार्टर्ड उडान गर्ने तर, व्यावसायीक उडान गर्न चासो नै नदिएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो ।