नेपालमा उद्योग खोल्न विदेशी लगानीकर्ता आकर्षित, वैदेशिक लगानी प्रस्ताव दोब्बरले बढ्यो

काठमाडौं । गत आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक लगानी प्रतिबद्धता दोब्बरभन्दा धेरैले बढेको छ ।

 

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा कुल ३१ अर्ब ८६ करोड लगानी प्रस्ताव आएकोमा गत आवमा त्यो १२६ प्रतिशतले बढेर ७२ अर्ब २८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । यो लगानी प्रस्ताव २०७५/७६ को भन्दा ४० अर्ब ४२ करोड रुपैयाँ बढी हो ।

 

विभागका अनुसार गत आवमा २२६ कम्पनीमा वैदेशिक लगानी प्रतिबद्धता आएको छ । जसमा सबैभन्दा धेरै पर्यटन क्षेत्रका उद्योगमा लगानी प्रस्ताव आएको छ ।

 

४ महिना लामो लकडाउनका बाबजूद विगतको तुलनामा दोब्बर लगानी प्रस्ताव आउनु औद्यागिक क्षेत्रका लागि निकै राम्रो कुरा हो । तर, अझै पनि ठूलो रकम साना तथा मझौला किसिमका होटल, रेष्टुरेन्ट लगायत उद्योगमा आएकाले त्यसलाई ठूला उद्योगमा लगानी गर्न प्रोत्साहित गर्नु पर्ने देखिन्छ ।

 

यो पटक ऊर्जामा लगानी आएकाले वैदेशिक लगानी धेरै वृद्धि हुन गएको जनाएको छ । विगतमा ऊर्जामा कुनै लगानी आउन सकेको थिएन भने यो पटक ऊर्जा तर्फ ८ नयाँ उद्योगका लागि लगानी प्रस्ताव आएका हुन् ।

 

उद्योग विभागका प्रवक्ता विनोद खड्काले ऊर्जा क्षेत्रमा ठूला लगानीहरु आएकाले लकडाउनका बाबजूद वैदेशिक लगानी दोब्बरले बढ्न सफल भएको बताए । ‘ऊर्जा र पर्यटनमा हो धेरै लगानी आउने, यो पटक यिनै क्षेत्रमा बढी लगानी प्रतिवद्धता आएकोले वैदेशिक लगानी बढ्न सफल भएको हो,’ खड्काले भने ।

 

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ तथा उद्योग समितिका सभापति अञ्जन श्रेष्ठले नेपालमा लगानी गर्न विदेशीहरु निकै इच्छुक देखिएको बताए । उनले विश्वका अन्य देशको तुलनामा नेपालमा लगानी गर्दा प्रतिफल धेरै पाउने सम्भावना रहेकाले विदेशी लगानीकर्ता आकर्षित भएको बताए ।

 

४ महिना लामो लकडाउनका बाबजूद विगतको तुलनामा दोब्बर लगानी प्रस्ताव आउनु औद्यागिक क्षेत्रका लागि निकै राम्रो कुरा रहेको श्रेष्ठको भनाइ छ । तर, अझै पनि ठूला लगानीका क्षेत्रमा भन्दा साना लगानी क्षेत्रमा धेरै लगानी प्रतिबद्धता आउने भएकाले अझै यसलाई सुधार्नु पर्ने उनको सुझाव छ ।

 

सरकारले वैदेशिक लगानी हस्तान्तणमा सहजीकरणले समेत यसमा ठूलो भूमिका निभाएको उनले बताए । उनले नेपालको विद्युत् भारत, बंगलादेश लगायतका देशमा निर्यात गरिने कुराले अझ विदेशीहरुलाई लगानीमा प्रोत्साहन गरेको बताए । ‘बंगलादेशले नेपालसँग विद्युत किन्ने भन्दै छ, भारत, तिब्बत, चीनमा समेत विद्युत् निर्यात गर्न सकिन्छ, सरकारले अझै ठूला लगानीलाई प्रोत्साहन गर्नु पर्छ,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ।

 

सरकारले छिमेकी राष्ट्रहरुमा विद्युत् निर्यातका लागि सहजीकरण गर्ने हो भने ऊर्जा तर्फ वैदेशिक लगानी अझै वृद्धि हुन सक्ने उनले बताए । सरकारले बजार सुनिश्चिता गर्नसके र छिमेकी देशहरुसँग सुनिश्चित पहल गर्न सके वैदेशिक लगानीलाई अझै वृद्धि गर्दै लैजान सकिने उनको भनाइ छ ।

 

लगानी प्रस्ताव बढ्यो, उद्योग संख्या घट्यो

 

गत आवमा वैदेशिक लगानी रकम दोब्बरले बढे पनि दर्ता भएका नयाँ उद्योगको संख्या भने घटेको छ । आव २०७६/७७ मा वैदेशि लगानीका २२६ वटा नयाँ उद्योग दर्ता भएका छन् । यो अघिल्लो आव २०७५/७६ को भन्दा ११८ वटा कम हो । अघिल्लो आवमा विदेशी लगानीका ३४४ वटा नयाँ उद्योग दर्ता भएका थिए ।

 

विभागका अनुसार २०७५/७६ मा दर्ता भएका उद्योग सञ्चालनमा आएपछि १४ हजार ५०० जनाले रोजगारी पाउने अनुमान गरिएको थियो । तर, गत आवमा दर्ता भएका वैदेशिक लगानीले ११ हजार २०० सयलाई रोजगार दिने अनुमान गरिएको छ ।

 

कुन क्षेत्रमा कति लगानी प्रतिबद्धता

 

ऊर्जा  क्षेत्र :  विदेशी लगानीकर्ताले सबैभन्दा धेरै रकम ऊर्जा क्षेत्र लगानी गर्ने प्रस्ताव गरेका छन् । आव २०७६÷७७ मा ऊर्जा क्षेत्रका ८ आयोजना सञ्चालनका लागि ३३ अर्ब १५ करोड रुपैयाँ वैदेशिक लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । यो गत आवमा आएको क्षेत्रगत लगानीका आधारमा सबैभन्दा धेरै रकम हो ।

 

पर्यटन  क्षेत्र : यस क्षेत्रमा ८१ नयाँ उद्योग सञ्चालनका लागि ११ अर्ब २४ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रस्ताव आएको छ । यी उद्योगमा ३ हजार भन्न्दा बढीले रोजगारी पाउने छन् । विगतको तुलनामा यो पटक पर्यटन तर्फ १ अर्ब कम लगानी भित्रिएको छ ।

 

आर्थिक वर्ष २०७५/७६ मा पर्यटन तर्फ १३१ नयाँ उद्योगका लागि वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । सो उद्योग सञ्चालनका लागि १२ अर्ब ३३ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो । उक्त लगानी मार्फत सञ्चालन हुने सो उद्योगहरुले ४ हजार ३४७ लाई रोजगार दिने अनुमान गरिएको थियो ।

 

सेवामूलक क्षेत्र : यस क्षेत्रमा गत आवमा ७३ उद्योग सञ्चालनका लागि वैदेशिक लगानी प्रतिबद्धता आएको छ । जसमा १२ अर्ब ५१ करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । अघिल्लो आवमा यस क्षेत्रमा ७ अर्ब २१ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो ।

 

उत्पादनमूलक क्षेत्र : यस क्षेत्रमा गत आवमा २३ वटा वैदेशिक लगानीका उद्योग दर्ता भएका छन् । ती उद्योगमा ३ अर्ब १७ करोड रुपैयाँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ । यस क्षेत्रमा अघिल्लो आवमा ६२ नयाँ उद्योगमा १ अर्ब ११ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।

कृषि क्षेत्र : यस क्षेत्रमा आर्थिक वर्ष २०७६/७७ मा विदेशी लगानीका ४ नयाँ कम्पनी वैदेशिक लगानीमा दर्ता भएका छन् । ती कम्पनी सञ्चालनका लागि ५३ करोड रुपैयाँ लगानी प्रस्ताव आएको हो ।आर्थिक वर्ष २०७५÷७६ मा यस क्षेत्रमा १७ नयाँ उद्योग सञ्चालनका लागि ४० करोड लगानी प्रस्ताव आएको थियो ।

 

यसरी हेर्दा यो पटक वैदेशिक लगानी प्रतिबद्धता रकममा वृद्धि भए पनि उद्योग र रोजगारीका संख्यामा भने ककी आएको छ । यो पटक विश्वभर देखिएको कोभिड १९ का कारण वैदेशिक लगानीमा प्रभाव पार्ने अनुमान गरिए पनि त्यो भएको छैन । कोभिड १९ का कारण लकडाउनको अवधिमा समेत २९ अर्ब ३१ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएको थियो ।

 

२०७६ चैत्र ११ गतेदेखि लक डाउन सुरुभएको गत आर्थिक वर्षको अन्तिम दिनसम्ममा ४९ उद्योग वैदेशिक लगानीमा दर्ता भएको विभागले जनाएको छ ।

 

रियलीमी ६ र ६आई स्मार्टफोन नेपालमा सार्वजनिक, यस्तो छ मूल्य Read Previous

रियलीमी ६ र ६आई स्मार्टफोन नेपालमा सार्वजनिक, यस्तो छ मूल्य

अब खानेपानीको मिटर आफैले रिडिङ गर्ने सक्ने Read Next

अब खानेपानीको मिटर आफैले रिडिङ गर्ने सक्ने