नेपालको सडक पूर्वाधार स्तरोन्नतिका लागि विश्व बैंकले दियो ५४ अर्ब ऋण

काठमाडौं । विश्व बैंकले नेपालको यातायात पूर्वाधारको क्षमता विस्तार गर्न र सुरक्षाका लागि अहिलेसम्मकै ठूलो ऋण सहयता उपलब्ध गराएको छ ।

 

विश्व बैंकले भारतलगायत छिमेकी राष्ट्रसँग सडक सम्पर्क संजाल विस्तार तथा व्यापार अभिवृद्धि गर्न नेपाल सरकारलाई ४५ करोड अमेरिकी डलर (करिब ५४ अर्ब रुपैयाँ) बराबरको ऋण दिएको हो ।

 

उक्त ऋण सम्बन्धी सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्‍व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्‍व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले सम्झौतामा हस्ताक्षर गरे ।

 

यो आयोजना नेपाल सरकार र विश्व बैंकबीच हालसम्म भएको सबैभन्दा उच्च मूल्यको एकल आयोजना भएको समेत बैंकले जनाएको छ ।

 

विश्व बैंकबाट प्रात हुने सो रकम नागढुंगा-नौबिसे-मुग्लिङ सडकखण्ड सुधार र कमला-ढल्केबर-पथलैया सडकको स्तरोन्नति गर्दै चार लेनको बनाउन प्रयोग गरिनेछ ।

 

साथै रणनीतिक सडक सञ्‍जाल व्यवस्थापन क्षमताको सुदृढीकरण गर्ने अर्थ मन्त्रालयले जनाएको छ । विद्यमान व्यापारिक सेवालाई सहज बनाउन, कृषिजन्य निर्यात प्रवर्द्धन गर्न यस आयोजनाले सीमा-नाकामा पूर्वाधार, सेवा सुविधा तथा सरसफाइमा सुधार गर्ने समेत योजना छ ।

नवप्रवर्तन प्रवद्र्धन गर्न नाष्टले दियो ३३ जनालाई सवा २ करोड अनुदान Read Previous

नवप्रवर्तन प्रवद्र्धन गर्न नाष्टले दियो ३३ जनालाई सवा २ करोड अनुदान

डीडीसीको अफर : चीज, घिउ र नौनी किन्दा दही सित्तैमा Read Next

डीडीसीको अफर : चीज, घिउ र नौनी किन्दा दही सित्तैमा