मौद्रिक नीतिमा गर्न लागिएका यी दुई व्यवस्थाले के सेयर बजार ‘बुम’ होला ?

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति पारित भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड)को आज बिहान बसेको बैठकले मौद्रिक नीति पारित गरेको हो ।

 

राष्ट्र बैंकका अनुुसार बोर्डबाट पारित भएसँगै दिउँसो ३ बजे नीति सार्वजनिक हुनेछ । राष्ट्र बैंकले यस वर्षको मौद्रिक नीति मार्फत सेयर बजारलाई फाइदा हुने गरी मुख्य दुई व्यवस्था गर्न लागेको छ ।

 

राष्ट्र बैंकले सेयर बजारमा लगानी गर्न थप ऋण पाउने गरी मार्जिन लेन्डिङको सीमा बढाउने र बैंक तथा वित्तीय संस्थालाई गत आर्थिक वर्षको नाफाबाट लाभांश बाँड्दा नगद लाभांशमा कडाइ गर्ने भएको छ ।

 

मार्जिन लेन्डिङको सीमा थोरै भए पनि बढ्ने भएपछि यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ । अहिले बैंकहरुमा पर्याप्त तरलता रहेको र राष्ट्र बैंकले पनि लेन्डिङ सीमा बढाइदिँदा लगानीकर्ताले थप रकम सेयर बजारमा लगानी गर्ने सम्भावना हुँदा बजार चलायमान हुने आशा गरिएको छ ।

 

राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीतिमार्फत सेयर कर्जा (मार्जिन लेन्डिङ) सीमा बढाउने तयारी गरिएको छ । राष्ट्र बैंकले हाल कायम रहेको मार्जिन लेन्डिङ सीमा ५ प्रतिशत बढाएर ७० प्रतिशत पुर्याउने भएको छ ।

 

लकडाउनको समयमा करिब ३ महिना बन्द भएको सेयर बजार चलायमान बनाउन धितोपत्र बोर्डले मार्जिन लेन्डिङ सीमा ७५ प्रतिशत पुर्याउन सुझाव दिएको थियो । त्यस्तै लगानीकर्ताहरुले पनि यस्तो सीमा ८० प्रतिशत बनाउन माग गरेको थिए ।

 

मार्जिन लेन्डिङको सीमा थोरै भए पनि बढ्ने भएपछि यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ । अहिले बैंकहरुमा पर्याप्त तरलता रहेको र राष्ट्र बैंकले पनि लेन्डिङ सीमा बढाइदिँदा लगानीकर्ताले थप रकम सेयर बजारमा लगानी गर्ने सम्भावना हुँदा बजार चलायमान हुने आशा गरिएको छ ।

 

पछिल्लो समय क्रमशः उकालो लाग्दै गरेको बजारमा थप लगानी भित्रिने भएपछि यसले बजारलाई चलायमान बनाउने भएको छ । सधैं तरलता अभाव झेल्दै आएका लगानीकर्ताले थप लगानी योग्य रकम बैंकबाट पाउने भएपछि यसले सेयर बजार बढ्ने उनीहरुको आशा छ ।

 

यस्तै, राष्ट्र बैंकले मौद्रिकी नीति मार्फत बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश बाँड्न कडाइ गर्ने भएको छ ।  बैंक स्रोतका अनुसार बैंक तथा वित्तीय संस्थाले गत वर्षको नाफाबाट कुल लाभांशको ३० प्रतिशतभन्दा बढी नगद लाभांश बाँड्न पाउने छैनन्।

 

अर्थात कुनै पनि बैंक तथा वित्तीय संस्थाले कुल लाभांशको बढीमा ३० प्रतिशतभन्दा  नगद र ७० प्रतिशत बोनस सेयर दिनु पर्ने भएको छ । राष्ट्र बैंकले बोनस वितरणमा भने कुनै रोक लगाएको छैन ।

 

मानौ कुनै बैंक तथा वित्तीय संस्थाले गत वर्षको नाफाबाट २० प्रतिशत लाभांश दियो भने अब ६ प्रतिशतभन्दा बढी नगद लाभांश दिन नपाउने भएका छन् ।

 

यस व्यवस्थाले बैंक तथा वित्तीय संस्थाबाट नगद लाभांशको रुपमो ठूलो पूँजी बाहिरिन रोकिने छ । जसले बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पूँजी वृद्धि हुनेछ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले बोनस सेयर वितरण गरी आफ्नो पूँजी बढाउन सक्ने भएका छन् । जसले बैंक तथा वित्तीय संस्थालाई आफ्नो व्यापार व्यावसाय बढाउन सहयोग पुर्याउने छ ।

 

करिब ४ वर्ष बियरिस ट्रेन्डमा रहेको सेयर बजार पछिल्लो समय क्रमशः उकालो लाग्न थालेको छ । यसैबेला राष्ट्र बैंकले बजार तथा लगानीकर्तामैत्री व्यवस्था गरिदिनाले आगामी दिनमा बजारले झनै गति लिने आम लगानीकर्ताले आशा गरेका छन् ।

अमेरिकन एयरलाइन्सले २५ हजार कर्मचारी कटौती गर्ने Read Previous

अमेरिकन एयरलाइन्सले २५ हजार कर्मचारी कटौती गर्ने

नवप्रवर्तन प्रवद्र्धन गर्न नाष्टले दियो ३३ जनालाई सवा २ करोड अनुदान Read Next

नवप्रवर्तन प्रवद्र्धन गर्न नाष्टले दियो ३३ जनालाई सवा २ करोड अनुदान