काठमाडौं । सेयर बजार उकालो लाग्ने क्रम जारी छ । हिजो ९ अंकभन्दा धेरैले बढेको बजारमा आज सामान्य वृद्धि भएको छ भने कारोबार लगातार १ अर्ब माथिको भएको छ ।
सेयर बजार मापक सूचक नेप्से २.१२ अंकले बढेर १३४२.४१ विन्दुमा पुगेको छ । आज १८४ कम्पनीको १ अर्ब ८ करोड ८७ लाख १६ हजार ११८ रुपैयाँ बराबरको कारोबार भएको छ । ३७ लाख ३३ हजार ५०५ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कारोबार भएका १२ वटा समूहमध्ये ४ वटा समूहको परिसूचक ओरालो लागेका छन् भने बाँकी ८ समूहको परिसूचक उकालो लागेका छन् । आज सबैभन्दा धेरै माइक्रोफाइनान्स समूहको परिसूचक ५१.३६ अंकले बढेको छ भने जीवन बीमा समूह ५४.४५ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा प्रभु बैंकको प्रमोटर सेयर सेयर शीर्ष स्थानमा रह्यो । यसको १० करोड ७२ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ । कारोबारकै आधारमा नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् ।
आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल सेवा, गुँरास, सूर्योदय, एनआइसी एशिया लघुवित्त र सानिमा बैंकको डिबेन्चरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
आज ओरेन्टल होटलको सेयर मूल्य सबैभन्दा धेरै ६.१३ प्रतिशतले घटेको छ ।