कोभिड मिथ : कोरोना भाइरस बारे समुदायमा व्याप्त १३ भ्रामक जानकारीको चिरफार

कोरोना भाइरस उपचारका सम्बन्धमा मिथ्या र गलत सूचना विश्वभर फैलिएको छ जसका कारण सार्वजनिक अनि व्यक्तिगत स्वास्थ्य र सुरक्षा माथि वास्तविक जोखिम रहेको छ। गलत जानकारीको प्रसारलाई कम गर्न हामी केही प्रमुख चिकित्सकीय मिथकहरूलाई सम्बोधन गर्दैछौं।

 

अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयु) मा कार्यरत चिकित्सा विज्ञान तथा सरुवा रोगका सहप्राध्यापक सञ्जय सेनानायकेका अनुसार उनले समुदायमा कोरोनाभाइरसका बारे फैलिरहेको भ्रम निवारण वैज्ञानिक तथ्यहरूमा टेकेर गरिदिन अनुरोध गरेको छन्।

 

१. स्वास्थ्य हट्टाकट्टा नौजवान युवा युवतीहरूलाई भाइरसले छोए केही पनि हुँदैन, केवल वृद्ध/वृद्धा र अन्य स्वास्थ्य समस्या भएकाहरूलाई यसबाट जोखिम छ ?

 

हामीलाई थाहा छ कि कोभिड सङ्क्रमणबाट सबैभन्दा नराम्ररी प्रभावित हुने वा उच्च जोखिममा रहने मानिसहरूमा बुढापाकाहरू नै हुन्, विशेष गरी ६५ वा ७० वर्षभन्दा माथि उमेर पुगेकाहरू र पहिलेदेखि नै स्वास्थ्यमा समस्या भएका मानिसहरू।

 

तथापि, हामीले पक्कै पनि युवा, स्वास्थ्य अवस्थामा रहेका मानिसहरू कोभिडबाट अति सिकिस्त भएका अवश्य देखेका छौँ जसलाई अति सघन उपचारको आवश्यकता पर्छ वा उनीहरूले ज्यानै पनि गुमाएका छन्।

 

त्यसैले हट्टाकट्टा युवाहरूलाई उनीहरूले ज्यानै गुमाउने गरी गम्भीर प्रकृतिको सङ्क्रमण हुने मौका निकै कम भए पनि, त्यसो हुने खतरा चाहिँ छ।

 

कोभिड भएर ज्यान गुमाउने कतिपय त पूर्णरुपमा स्वास्थ्य व्यक्तिहरू थिए।

 

२. युभी भनिने सूर्यको पराबैंगनी किरणमा परेपछि कोरोनाभाइरसका जीवाणु मर्छन्, त्यसैले घाममा बस्दा म भाइरसबाट बच्छु ?

 

पराबैंगनी किरणले फ्लु लगायतका केही भाइरसहरूलाई प्रभावित गर्छ भन्ने प्रमाण नभएका त होइनन् तर ती बलिया आधार चाहिँ होइन।

 

यसो हेर्दा यु भी सी भनिने एक किसिमको पराबैंगनी किरणले कोरोनाभाइरस विरुद्ध सबैभन्दा राम्रो काम गर्ने देखिएको त छ, तर त्यो मानिसहरूको लागि पनि खतरनाक हुनसक्छ।

 

एक विशेष प्रकारको फार-युभीसी भनिने पराबैंगनी किरणको जाँच गरिएको छ जुन मानिसहरूका लागि हानिकारक नहुन पनि सक्छ तर भाइरस एवं ब्याक्टेरिया जस्ता जीवाणुका लागि खतरनाक।

 

तथापि, यसबारे मानिसहरू माथि राम्रो अनुसन्धान हुन अझै बाँकी नै छ।

 

३. लसुन खाने, भिटामिन डीका पूरक चक्की लिने वा हर्बल अनि घरेलु उपायद्वारा निर्मित औषधीहरूले कोरोनाभाइरस सङ्क्रमण हुनबाट जोगाउँछ ?

 

यस सम्बन्धमा कुरा यसै हो भनेर ठोकुवा गरेर भन्न सकिने कुनै पनि वैज्ञानिक आधार छैनन्। यदि तपाईँलाई लसुन खाएर आराम भएको अनुभव हुन्छ भने त्यो ठिकै छ तर मलाई लसुन खाएर कोभिड हुँदैन भन्ने सोच राखेर चाहिँ त्यसो नगर्नुहोस्।

 

४. तातो पानी, मदिरा वा कागती पानीले मेरो घाँटीबाट भाइरस हटाउँछ ?

 

तातो पानी वा कागती पानीले तपाईँको गलालाई केही राहत दिएको महसुस हुनसक्छ तर भाइरस भने मार्दैन। तिनीहरूले भाइरस विरुद्ध काम गर्दैन।

 

५. फोक्सोमा सङ्क्रमण गर्नु अघि भाइरस केही दिन घाँटीमा बस्छ। उच्च तापक्रमले भाइरस ध्वस्त हुने भएकाले सङ्क्रमण भइहालेमा तातो पानी खाए बिरामी हुनबाट जोगिन सकिन्छ ?

 

निश्चय पनि भाइरस घाँटी तथा नाकबाट सुरु हुन्छ, तर पनि, हामीले अघि नै तातो पानीको कुरा गरिसकेका छौँ कि त्यसले वा माउथवाशले भाइरस मार्दैन भनेर।

 

६. लगातार रूपमा पानी पिई राख्यो भने भाइरस श्वासप्रश्वास नलीको साटो मेरो पेटमा पुग्छ जहाँ एसिडले त्यसलाई मारिदिन्छ ?

 

त्यस्तो हुन्छ भन्ने कुनै प्रमाण हामीसँग छैन। टन्न पानी खाँदा स्वास्थ्यमा प्रत्यक्ष लाभ पुग्ने बारे हामीसँग यथेष्ट कारणहरू छन्, तर कोभिड-१९ का लागि होइन।

 

सङ्क्रमित मानिसहरूको दिसामा पनि कोरोनाभाइरसका जीवाणुहरू पाइएका छन्। जसको मतलब के हो भने पेटमा रहेको एसिडले सदैव उक्त भाइरसलाई खत्तम पारिदिन्छ भन्ने छैन।

 

७. कडा किसिमका मदिराजन्य पेय पदार्थहरू  जस्तै ह्विस्कीले मेरो घाँटीलाई स्टरीलाइज वा जीवाणु रहित बनाउने भएकाले ती पिउँदा भाइरस मर्छन् ?

 

अहँ, कडा प्रकारका मदिरा पिएर भाइरस मर्छन् भन्ने कुराको पनि कुनै प्रमाण हामीसँग छैन। बरु, त्यसो गर्नाले तपाईँको स्वास्थ्यमा अन्य नकारात्मक असरहरू चाहिँ अवश्य पर्छ।

 

मेरो बिचारमा अल्कोहल युक्त ह्याण्ड स्यानिटाइजरद्वारा हातमा रहेका कोरोनाभाइरस मार्न प्रभावकारी भएका कारण यो कुरा मानिसहरू मन आएको हुनसक्छ। शरीर बाहिर र भित्र अल्कोहल वा रक्सीले गर्ने प्रभाव नितान्त बेग्लै कुरा हुन्।

 

८. एचआइभीको उपचारमा प्रयोग हुने औषधी  प्रेप भनिने पीआरईपीको प्रयोग गरे कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन सकिन्छ ?

 

यो कुरा चाहिँ शायद एचआइभी रोकथाम तथा उपचारका लागि प्रयोगमा ल्याइएको संयोजित औषधी, लोपिनाभिर रिटोनाभिरले कोभिड-१९ विरुद्ध केही प्रभाव देखाएको भन्ने अभिधारणाबाट आएको हो।

 

तथापि, न्यु इङ्ग्ल्याण्ड जर्नल अफ मेडिसिनमा विविध परीक्षार्थीहरू माथि गरिएको एक नियन्त्रित परीक्षणको निकै निराशाजनक नतिजा प्रकाशित भएको थियो। हामीले अन्य शोधले के देखाउँछ, त्यो हेर्नु पर्छ।

 

अब, एचआइभी सम्बन्धी यो औषधीले कोभिड-१९ विरुद्ध केही प्रभाव देखायो भने पनि एचआइभीका अन्य औषधीले कोरोनाभाइरस विरुद्ध काम गर्छ नै भन्ने छैन।

 

९. औँलोको उपचारमा प्रयोग हुने हाइड्रोअक्सिक्लोरोक्विनले कोभिड-१९ लाई ठीक पार्छ ?

 

यस बारे थप अनुसन्धान हुनुपर्छ किनभने ल्याबमा गरिएका परीक्षणमा त्यो औषधीले प्रभाव देखाएको छ र एक क्लिनिकल परीक्षणले चाहिँ त्यसले भाइरस मारेको हो कि भनेर उल्लेख गरेको छ।

 

त्यो अध्ययनका अनुसार हाइड्रोअक्सिक्लोरोक्विनले राम्रै प्रभाव देखाएको बताएता पनि अन्य शोधहरूले चाहिँ उक्त औषधीले कोरोनाभाइरस माथि कुनै प्रभाव जमाउन नसकेको बताएका छन्।

 

हाइड्रोअक्सिक्लोरोक्विनको अर्को समस्या भनेको यसले अन्य असरहरू पनि गर्छ जस्तो कि मुटुको धड्कनमा यसले प्रभाव पार्छ।

 

१०. बारम्बार तातो पानीमा नुहाइयो भने त्यसले कोरोना सङ्क्रमण हुनबाट जोगाउँछ?

 

बारम्बार तातो पानीमा नुहाउँदा कोरोनाबाट बच्न सकिन्छ भन्ने बारे कुनै प्रमाण छैन।

 

११. नुन पानीले नाकको प्वाल सफा गर्‍यो भने कोरोना सङ्क्रमण हुन पाउँदैन ?

 

तपाईँको नाक बन्द भएको छ भने त्यसो गर्दा नाक खुल्न सक्छ तर त्यसले कोरोनाभाइरस मार्दैन।

 

१२. फाइभ जी मोबाइल नेटवर्कले कोभिड-१९ फैल्याउँछ ?

 

मैले यो बुझेको छैन कि फाइभ जीले कसरी एउटा भाइरस फैलाउन सक्छ भनेर, यी दुईको कुनै सम्बन्ध छ जस्तो लाग्दैन। फाइभ जी प्रविधि चालू नै नभएका राष्ट्रमा पनि कोभिड छ।

 

१३. फाइभ जीले हाम्रो रोग प्रतिरोधात्मक क्षमता कमजोर पार्छ र यो महामारी फैलनुमा त्यसको पनि एउटा हात छ ?

 

फाइभ जीबाट उत्पन्न हुने विकिरणले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर पार्छ भन्ने कुनै आधार छैन।

 

-एसबीएस

 

 

काठमाडौंमा २३ सहित थप २५५ जनामा कोरोना पुष्टि, ५ जिल्ला कोरोना मुक्त Read Previous

काठमाडौंमा २३ सहित थप २५५ जनामा कोरोना पुष्टि, ५ जिल्ला कोरोना मुक्त

नबिल बैंक र हुवावे बीच रणनीतिक साझेदारी Read Next

नबिल बैंक र हुवावे बीच रणनीतिक साझेदारी