काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका छन् ।यो साता दैनिक पोजेटिभ सर्किट लाग्दै आएको कम्पनीको सेयर मूल्यमा आज पनि बजार खुलेको ३ मिनेटमै सर्किट लागेको छ ।
करिब ४ लाखभन्दा बढीले आइपीओ भरेको कम्पनीको दोस्रो बजारमा पनि सेयर किन्नेको ओइरो लागेको छ । कम्पनीको ठूलो संख्यामा सेयरको माग भए पनि विक्रीकर्ता भने खासै देखिदैनन् ।
मंगलबार ४८४ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य आज बजार खुल्नसाथ करिब १० प्रतिशतले बढेर ५३२ रुपैयाँ पुगेको छ ।
हाल १० अर्ब चुक्ता पूँजी रहेको कम्पनीले गत आर्थिक वर्ष १ अर्ब १७ करोड खुद नाफा कमाएको थियो । कम्पनीले जीवन बीमाबाट १९ करोड ११ लाख र निर्जीवन बीमाबाट ९८ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको हो ।
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म प्रिमियमबाट ५ अर्ब ५२ करोड खुद नाफा गरेको थियो । अघिल्लो वर्ष कम्पनीले प्रिमियमबाट २ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको यो कम्पनीको जगेडा कोषमा ३ अर्ब ४९ करोड रुपैयाँ छ भने बीमा कोषमा १ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।