काठमाडौं । लकडाउन खुकुलो भएसँगै वैदेशिक लगानी प्रतिबद्धता आउने क्रम बढेको छ ।
लकडाउन सुरु भए यता जेठमसान्त सम्ममा जम्मा ७५ करोडको लगानी प्रतिबद्धता आएकोमा लकडाउन खुकुलो भएसँगै आधा महिनामै ५ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
उद्योग विभागका अनुसार असार १ गते यता (१८ गतेसम्म) वैदेशिक लगानीका २६ वटा उद्योग दर्ता भएका छन् । जसमा ५ अर्ब १० करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी विनोद खड्काले लक डाउन खुकुलो भएसँगै उद्योग दर्ता गराउने क्रम बढ्न थालेको बताए । विगतमा जस्तो ह्वातै नबढे पनि विस्तारै उद्योग दर्ता तथा वैदेशिक लगानी प्रस्ताव आउने क्रम बढ्न थालेको उनले बताए । ‘एकै चोटी नयाँ उद्योग दर्ता धेरै वृद्धि भएको छैन, अब विस्तारै पहिलेकै अवस्थामा पुग्ने छ,’ खड्काले भने ।
उनका अनुसार सो अवधिमा सबैभन्दा धेरै सेवामूलक क्षेत्रमा नयाँ उद्योग दर्ता भएका छन् । यस अवधिमा सेवामूलक क्षेत्रमा १५ नयाँ उद्योग दर्ता भएका छन् । जसमा ३ अर्ब रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
यस्तै, पर्यटनतर्फ ६ नयाँ उद्योग सञ्चालनका लागि ५४ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको छ । सो उद्योग सञ्चालनपछि २०५ जनाले रोजगार पाउने छन् ।
सूचना तथा प्रविधि क्षेत्रमा ५ नयाँ उद्योग सञ्चालनका लागि लगानी प्रतिवद्धता आएको छ । सो उद्योग सञ्चालनका लागि १ अर्ब १० करोड वैदेशिक लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।
लकडाउन सुरु भएदेखि लगानी बोर्डमा उद्योग दर्ता हुन आउने संख्या निकै कम रहेको थियो । चैत्र ११ देखि जेठ मसान्तसम्ममा वैदेशिक लगानीतर्फ ८ नयाँ उद्योग दर्ता भएको थियो । सो उद्योगहरु सञ्चालनका लागि ७५ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव भएको हो ।
स्वदेशी लगानीका १३ उद्योग दर्ता
लकडाउन खुकुलो भएपछि असार १ गतेदेखि १९ गतेसम्म स्वदेशी लगानीका मात्रै १३ उद्योग दर्ता भएका छन् । सो अवधिमा ४ अर्ब ७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।
उद्योग दर्ता हुने क्रममा ऊर्जा क्षेत्रमा २ नयाँ उद्योग दर्ता भएका छन् । सो उद्योगहरु १ अर्ब ९२ करोड लगानीमा सञ्चालन गर्ने गरी दर्ता भएका हुन् ।
यस्तै उत्पादनमूलक क्षेत्रमा ३ नयाँ उद्योग दर्ता भएको छ । ५७ करोड ७० लाख लगानीमा सो तीन उद्योग सञ्चालनमा ल्याउने तयारी भएको हो । सेवामूलक क्षेत्रमा र पर्यटन क्षेत्रमा ४/४ वटा नयाँ उद्योग सञ्चालनका लागि दर्ता भएका छन् । सेवामूलक क्षेत्रमा ७२ करोड लगानीमा ४ उद्योग सञ्चालनमा ल्याउने तयारी भएको हो । सो उद्योगले १ सय ७७ लाई रोजगार सृजना गर्ने छ । पर्यटनतर्फ ८५ करोड लगानीमा ४ उद्योग सञ्चालनमा ल्याउने तयारी भएको छ ।
लकडाउनको अवधि जेठ मसान्तसम्मको स्वदेशी लगानीका ९ नयाँ उद्योग दर्ता भएको थियो । ती उद्योगहरु २ अर्ब २२ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आउने छ ।