रोकिएन असारे विकास, करोडौं बजेट बालुवामा पानी

काठमाडौं । पूर्वाधार विकासका काम आर्थिक वर्षको अन्तिम महिनानामा हुने क्रम रोकिएको छैन । तीनै तहका सरकारको बजेट पारित अघिल्लो वर्षको असारमै हुने कानूनी व्यवस्था गरिएको छ । विनियोजित बजेट तह लगाउने उद्देश्यले अन्तिम समयमा काम हुँदा गुणस्तरमा सम्झौता हुने गरेको छ ।

 

यसले गर्दा विकास निर्माणमा छुट्याइएको बजेट बालुवामा पानी हाले सरह भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको केन्द्र थलीबाट मूलपानीको प्लटिङमा निस्कने भित्री सडककमा असारको तेस्रो साता बल्ल काम थालिएको छ । असारे झरीका बीच सडकमा काम हुँदा गुणस्तरमा सम्झौता भएको स्थानीयवासीको गुनासो छ ।

 

भित्री कच्ची सडकमा मुसलधारे वर्षाका बीच काम हुँदा बाटो हिलोले हिँड्न नसकिने, पैदल यात्री एवं सवारी वाहक चिप्लिएर लडेर घाइते हुने लगायत समस्या रहेको स्थानीयवासी श्रीराम सापकोटाले बताए।

 

निर्माण स्थलमा सूचना पाटी समेत नदेखिँदा कति सडकमा के काम गर्न लागिएको भन्ने थाहा नभएको उनले सुनाए । सडक निर्माणका क्रममा सिमेन्टको मात्रा समेत कम प्रयोग भएको स्थानीयवासीको भनाइ छ ।

 

स्थानीयवासीले गुणस्तरीयता कायम हुनुपर्यो भनी राखेको माग पनि निर्माण व्यवसायीले सुनेका छैनन् । नगर प्रमुख कृष्णहरि थापा वाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालयको ठेक्कामा काम भइरहेको बताउँछन् ।
असारे झरीमा ग्राभेल नहाल्न नगरपालिकाले समेत अनुरोध गरेको उनले बताए।

 

जिल्ला प्रशासन कार्यालबाट दरभाउ नआई बोलपत्र नहुने, असोजसम्ममा मात्र दरभाउ आउने, त्यसपछि टेण्डर गर्दा काम गर्ने समय असारमै पुग्ने गरेको नगरपालिकाले जनाएको छ ।

 

यसमा सुधारका लागि प्रशासन कार्यालय र महालेखा परीक्षकको कार्यालयलाई समेत अनुरोध गरिएको नगर प्रमुख थापाले जानकारी दिए।

 

पूर्वाधार विकास कार्यालय अन्तर्गत ठेक्का भई प्लम्ब वाल लगाउने काम सम्पन्न भइसकेको इञ्जिनीयर सुजन थापाले बताए। त्यही सडकको मूलपानी प्लटिङतिरको भागमा नगरपालिकाले काम गरिरहेको छ ।

 

नगरपालिकाको काममा भने विभिन्न किसिमका समस्या आएको सुनिएको उनले जानकारी दिए । त्यो सडकका विषयमा स्थानीयवासीले विरोध समेत गरिरहेका छन् । कार्यालयले गरेको भागमा भने सूचना पाटी राखिएको उनको भनाइ छ । त्यस क्षेत्रमा रु एक करोडको लागतमा ५८८ घनमिटरको वाल निर्माण भएको जनाइएको छ ।

 

नगरपालिकाको वडा नं.–५ को एउटै सडकमा एकातिर पूर्वाधार विकास कार्यालय र अर्कोतिर नगरपालिकाले काम गरिरहेको छ । नगर प्रमुख थापा पनि त्यस क्षेत्रमा नगरपालिकाको योजना समेत सञ्चालनमा रहेको स्वीकार्छन् । वर्षामा ग्राभेल भने नहाल्ने उनको भनाइ छ ।रासस

ठमेलका व्यवसायीलाई १ वर्षसम्म घरभाडामा ५० प्रतिशत छुट Read Previous

ठमेलका व्यवसायीलाई १ वर्षसम्म घरभाडामा ५० प्रतिशत छुट

लकडाउनले  पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब नोक्सान Read Next

लकडाउनले पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब नोक्सान