लकडाउन हटे लगत्तै सेवा सूचारु गर्ने गोकर्ण रिसोर्टको तयारी, बनायो यस्तो मापदण्ड

काठमाडौं । कोरोना महामारीको कारणले लामो समयसम्म बन्द रहेको गोकर्ण फरेस्ट रिसोर्टले आफ्नो सेवा सुचारु गर्ने तयारी गरेको छ ।

 

हवाई यातायात सञ्चालनमा नआएको भए पनि रिर्सोटले आफ्नो सेवा सुचारु गर्नका लागि आफ्नो तयारी शुरु गरको हो ।

 

सेवा सुचारु गर्नका लागि स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डहरु पूरा गरिसकेको रिसोर्टले जनाएको छ । ग्राहक र कर्मचारीहरुको स्वास्थ्यलाई ख्याल गर्दै आफूले बनाएका विभिन्न मापदण्डहरु रिसोर्टले सार्वजनिक गरेको छ ।

 

‘सरकारले हस्पिटालिटी क्षेत्रमा लागू गरेको विद्यमान लकडाउन खोल्ने वित्तिकै हामी रिसोर्ट खोल्नका लागि तयारी गरेका हौं । गल्फ कोर्समा चाहिँ समाजिक दूरी कायम हुने हुनाले आंशिक रुपमा खोलेको अवस्था हो,’ रिसोर्टका रुम डिभिजन डाइरेक्टर रोजिक सापकोटाले चाणक्य पोष्टसँग भने ।

 

कुनै पनि ग्राहकलाई एयरपोर्ट लिन जानु अघि लिन जाने गाडी सम्पूर्ण रुपले स्यानिटाइज गर्नुका साथै ग्राहक रिसोर्टमा आइपुगेपछि उनीहरुका हात देखि लिएर जुत्ता, लगेज लगायत पनि पूर्ण रुपमा स्यानिटाइज गरिने रिसोर्टको मापदण्ड छ ।

 

यसका अलावा हातले सामान्यतया छुइने विभिन्न ठाउँहरुमा पनि बारम्बार सफा गरिने र स्यानिटाइज गरिने रिसोर्टले बताएको छ । रिसोर्टले सामाजिक दूरी कायम गर्नका लागि पनि रिसोर्टका लबी लगायत ठाउँहरुमा विभिन्न संकेतहरुको प्रयोग गरेको छ । रिसोर्टमा रेजिष्ट्रेशन लगायत क्रियाकलापहरु पनि डिजिटिल माध्यमबाट गर्ने व्यवस्था मिलाइएको रिसोर्टले जनाएको जनाएको छ ।

 

 

‘हवाइ यातायात सुचारु भए पछि नेपाल आउने योजना बनाइरहेका विदेशी पर्यटकहरुमा हाम्रो तयारीको बारेमा चासो हुने हुनाले पनि हामीले यस्तो तयारी गरेर सार्वजनिक गरेका हौं,’ सापकोटाले भने ।

 

यसैगरी कुनै पनि कोठामा ग्राहक बसेर गएपछि कम्तीमा ४८ घण्टा उक्त कोठा खाली राख्ने व्यवस्था रिसोर्टले मिलाएको छ । रेष्टुरेन्टको मेनु पनि डिजिटल बनाइएको छ । खानेकुरा इत्यादि सर्भ गर्दा पनि हातले नछुने व्यवस्था रिसोर्टले मिलाएको छ ।

 

यस्ता सबै मापदण्डहरु नेपाल सरकार र विश्व स्वास्थ्य संगठनका मापदण्डहरुका आधारमा बनाएको रिसोर्टले जनाएको छ ।

काठमाडौंमा २८ सहित थप ४७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या साढे १४ हजार नाघ्यो Read Previous

काठमाडौंमा २८ सहित थप ४७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या साढे १४ हजार नाघ्यो

एभरेष्ट ग्यास ग्रुपले कैलालीमा खोल्यो नयाँ उद्योग Read Next

एभरेष्ट ग्यास ग्रुपले कैलालीमा खोल्यो नयाँ उद्योग