माइतीघर-तीनकुने सडक झिलिमिली बनाउँदै महानगर, ७५ लाख खर्च हुने

काठमाडौं । काठमाडौं महानगरले ‘झिलीमिली काठमाडौं’ कार्यक्रमलाई परीक्षणका रुपमा अघि बढाएको छ । ‘रात्रीकालीन सहरी सौन्दर्य कार्यक्रम’ को नमूना परीक्षणका लागि माइतीघर मण्डला क्षेत्रमा ‘एलइडी कलर पाइप लाइट’ जडान गरिएका छन् ।

 

मण्डला क्षेत्रमा जडित सो बत्ति सूर्यको प्रकाश घट्दै गएपछि स्वचालित रुपमा आफैं बल्ने छन् ।महानगरपालिकाका सह–सचिव राजेश्वर ज्ञवालीले सहरलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउने कार्यक्रममध्येको रात्रीकालीन सौन्दर्य बढाउने कार्यक्रमको थालनी भएको हो । उनले अहिले परीक्षणका लागि मानिसहरुको धेरै चहलपहल र आवत–जावत हुने माइतीघर मण्डलामा नमूना परीक्षणका रुपमा अघि बढाएको बताए ।

 

‘विश्वका ठूला सहरहरुले रात्री जीवनलाई प्रोत्साहन गर्न रङ्गीन बत्तिहरुको संयोजन मिलाएका हुन्छन् । काठमाडौंलाई विश्वका यस्ता ठूला सहरको ठाउँमा पुर्याउन यस प्रकारका कार्यक्रम आवश्यक छन्,’ ज्ञवालीले भने ।

 

यसले सन्ध्याकालमा बाहिर निस्कने र रात्रीकालीन जीवन पछ्याउनेहरुलाई आनन्दित गर्ने उनले बताए । यसबाट सहरबासीले समृद्धिको अनुभूति गर्ने उनको बुझाई छ ।

 

महानगरले आगामी दिनमा धार्मिक तथा पर्यटकीय स्थल र सम्पदा सूचीमा रहेका स्थानहरुमा क्रमश यस्ता बत्ति जडान गर्दै जाने जनाएको छ । केही ठाउँमा महानगर आफैंले र केही ठाउँमा नीजि क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत बत्ति जडान हुने उनले बताए । ‘झिलीमिली काठमाडौं कार्यक्रम रातमा पनि जागा सहरको सूचक हो । यसले रात्रीकालीन व्यवसायबाट अर्थतन्त्रलाई थप चलायमान बनाउन टेवा पु¥याउँछ,’ सह सचिव ज्ञवालीले भने ।

 

महानगरले फुटपाथ पसल सञ्चालनमा रोक लगाएर सडक किनारालाई पैदल यात्रामैत्री बनाउने योजना बनाएको छ । रात्रीकालिन समयमा सडक किनारामा हिँड्न झिलीमिलीको ठूलो भूमिका हुने उनको बुझाई छ ।

 

महानगरले माइतीघर मण्डलाबाट अब तीनकुनेसम्मको सडक किनारामा झिलीभिली बनाइने छ । त्यसपछि क्रमशः नयाँ सडक, दरबारमार्ग, ठमेललगायत क्षेत्रमा पनि बत्ति जडान गरिने छन् ।

 

महानगरले आगामी वर्षमा रङ्गीचङ्गी बत्ति जडानका लागि करीब ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आउँदो कार्तिक महिनासम्ममा सहरका दर्जन ठाउँमा बत्ति जडान गर्ने लक्ष्य राखिएको सहसचिव ज्ञवालीको भनाइ छ ।

 

महानगरले आव २०७७/०७८ को नीति तथा कार्यक्रममा बत्तिसँग सम्बन्धित कार्यक्रम राखेको छ । प्रमुख चोकहरुमा आधुनिक सिग्नलाइज्ड प्रणालीमा आधारित ट्राफिक लाइट जडान गरी ट्राफिक व्यवस्थापनलाई थप सहज र व्यवस्थित बनाउने, मेयर उज्यालो कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने, मुख्य चोकहरुमा हाइमास बत्ति जडान गर्ने नीति तथा कार्यक्रममा समेटिएका छन् ।

मौद्रिक नीतिमा व्यवसायसँग सम्बन्धित नीतिमा सहजीकरण गर्न एक्यानको आग्रह Read Previous

मौद्रिक नीतिमा व्यवसायसँग सम्बन्धित नीतिमा सहजीकरण गर्न एक्यानको आग्रह

काठमाडौं उपत्यकामा ८ सहित थप ४७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार २४८ पुग्यो Read Next

काठमाडौं उपत्यकामा ८ सहित थप ४७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार २४८ पुग्यो