काठमाडौं । लामो समयसम्म बन्द भएर आज खुलेको सेयर बजारमा बजार खुलेको करिब पौने घण्टामा नै पहिरो गएको छ । करिब पौने घण्टामा बजार ४ प्रतिशतले घटेर १२ बजेसम्मका लागि बन्द भएको छ ।
करिब ४५ मिनेट खुलेको बजारमा १३ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । सबैभन्दा धेरै गुमाउने १३ वटा कम्पनी मध्ये ८ वटा बैंक छन् ।
एभरेष्ट, एनएमबी, एनआइसी एसिया, सानिमा, नेपाल बैंक, नबिल, नेपाल बंगलादेश र सेञ्चुरी कर्मशियल बैंकका लगानीकर्ताले बजार खुल्ने बित्तिकै १० प्रतिशतले गुमाएका हुन् ।
यसैगरी १० प्रतिशत गुमाउने अन्य ५ वटा कम्पनीमा नेपाल पूर्नवीमा, नेशनल लाइफ, अपर तामाकोशी, लाइफ इन्स्योरेन्स र शिभम् सिमेन्टका लगानीकर्ता रहेका छन् ।
अहिलेसम्म जम्मा ५ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ । यस्तो बजारमा पनि कमाउनेमा गुडविल फाइनान्स, हिमाल दोलखा, नेपाल इन्भेष्टमेन्ट, नेपाल इन्भेष्टमेन्ट प्रमोटर र नागरिक लगानी कोषका लगानीकर्ता रहेका छन् ।