काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सहल किराको समस्या टरेको भन्दै भारतबाट नेपाल नछिर्ने आकलन गरेको थियो । तर, त्यो गलत साबित भएको छ ।
शनिबारदेखि नेपालका विभिन्न जिल्लामा देखिएको सलह किराले एक दिनमै धेरै क्षति गरिसकेको छ । तराईबाट नेपाल प्रवेश गरेको सलह किरा भित्री मधेस र पहाडी जिल्लामा समेत पुगेका छन् भने अब पश्चिमतर्फ जाने पूर्वानुमान गरिएको छ ।
शनिबार दिउँसो बुटवलको रामनगर, कालिनगर, गोलपार्क, तिलोत्तमा नगरपालिका, सुख्खानगर, लुम्बिनी नगरपालिकामा सलह किरा देखिएको थियो । रुपन्देही हुँदै सलह किरा पाल्पा, गुल्मी, सिन्धुली, मकवानपुर, काभ्रे लगायतका जिल्लामा पुगिसकेको छ ।
तर, मन्त्रालयले भने प्रेश विज्ञप्ती निकाल्दै साना समूहमा सलह किरा देखिएको जनाएको छ । मन्त्रालयका अनुसार मनसुन सुरु भएकाले हावाको दिहा र गतिमा अचानक आएको परिवर्तनले सलह किरा नेपाल प्रदेश गरेको अनुमान गरेको छ ।
मन्त्रालयले यसअघि सलहबारे अध्ययन गर्न बनेको कार्यदलले कार्ययोजनासहित तयार पारेको प्रतिवेदन सबै सम्बद्ध निकायसहित प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई उपलब्ध गराइएको जनाएको छ ।
संघ, प्रदेश र स्थानीय तहबीच पर्याप्त सम्वाद र सहकार्यमा काम भइरहेको र सलहको संख्या, अवस्था, फैलावट, क्षतिको आकलन लगायतका विषयमा जानकारी लिन संघीय निकायहरू र प्रदेश अन्तर्गतका प्राविधिकहरू परिचालित भइसकेको मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।
सलह किरा दिनभर उड्छ र रातभर बास बस्छ । सलहको ठूलो झुण्डले बास बसेको ठाउँमा एकैरातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ ।
सलहको सम्भावित जोखिम नियन्त्रणका लागि १ नम्बर प्रदेश सरकारले गृहकार्य सुरु गरेको छ । सलहको प्रकोपले भारतमा यसअघि नै गम्भीर प्रभाव पारिसकेको छ र यो कीरा चाँडै नेपाल भित्रिने अनुमान गरिएको थियो । मन्त्रालय भने तत्काल सहलको प्रकोप टरेको भन्दै ढुक्क भएको थियो । कृषि सचिव राजेन्द्र प्रसाद भारीको अध्यक्षतामा बसेको बैठकले कार्यदल गठन गरेको थियो ।
एक वर्ग किलोमीटरको झुण्डमा करीब करोड सलहहरू हुन्छन् । जसले एक दिनमा ३५ हजार व्यक्तिले खपत गर्ने खाना खान्छन् । एफएओ अनुसार, यी कीराहरू नियन्त्रण गर्न सवारीको हिसाबले र हवाई स्प्रेयर मार्फत अर्गानोस्फेट रसायन प्रयोग गर्नु पर्छ ।