काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको गुणस्तर मापदण्ड पूरा नगर्ने ६ वटा उद्योगलाई कारबाही गरेको छ।
विभागले तोकिएको गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै चार सिमेन्ट उद्योग, एउटा स्टिल र एउटा ग्यास उद्योग गरी ६ वटा उद्योगलाई कारबाही गरेको हो ।
विभागका अनुसार ती उद्योगहरुले उत्पादन गरेको सिमेन्ट, स्टिल र ग्यासको नमूना परीक्षण गर्दा न्यूनतम गुणस्तर मापदण्ड पूरा नभएको पाइएको जनाएको छ ।
कारबाहीमा पर्ने सिमेन्ट उद्योगहरुमा रिलायन्स सुपरटेक सिमेन्ट, श्री इन्टरनेशनल सिमेन्ट, अग्नी सिमेन्ट र सर्वोत्तम सिमेन्ट छन्। यस्तै विभागले एभरेष्ट ग्यास उद्योग र श्री कमला रोलिंग मिल्स उद्योगलाई पनि कारबाही गरेको छ ।
कारबाहीमा परेका रिलायन्स र इन्टरनेशनल सिमेन्टको गुणस्तर प्रमाण चिह्न रद्द गरिएको विभागले जनाएको छ । यस्तै विभागले एभरेष्टको गुणस्तर प्रमाण चिह्न स्थगन गरेको छ भने अन्य उद्योगलाई स्पष्टिकरण सोधेको छ ।
विभागले गुणस्तर प्रमाण चिह्न पत्र ऐन(२०३७ तथा नियमावली २०४० को नियम १६ अनुसार ती उद्योगहरुलाई कारबाही गरिएको जनाएको छ ।