अब जग्गा बाँझो राखे प्रतिआना १०० जरिवाना, सूचना दिनेलाई २५ प्रतिशत पुरस्कार

काठमाडौं । गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा बाँझो जग्गा राख्ने नगरवासीलाई आनामा १०० रुपैयाँका दरले जरिवाना गराउने भएको छ ।

 

‘कृषि, पर्यटन, सामाजिक विकास र दिगो भौतिक पूर्वाधारको लहर, गोदावरीलाई समृद्ध बनाउने हाम्रो रहर,’ भन्ने मूल नाराका साथ नगरपालिका उपप्रमुख मुना अधिकारीले बुधबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जग्गा बाँझो राख्ने कार्यलाई निरुत्साहन गर्न प्रतिआनामा १०० जरीवाना गराई सो सम्बन्धमा सूचना दिनेलाई २५ प्रतिशत पुरस्कार दिने घोषणा गरे ।

 

यसैगरी गोदावरीले स्थानीय कुखुरा प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्न प्रत्येक वडामा युवा रोजगारी कार्यक्रम, कम्तीमा ५ रोपनीभन्दा माथि व्यावसायिक खेती गर्ने कृषक समूह तथा वैदेशिक रोजगारीबाट फर्केका स्थानीय नगरवासी र कृषि तथा पशु फार्मलाई मल तथा बीउमा ५० एवं कृषि तथा पशु फार्म पूर्वाधार निर्माणका लागि ७५ प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ ।

 

गोदावरीले ‘जमीनको आम्दानी जमीनमा नै लगानी’ भन्ने मान्यतालाई आत्मसात् गर्दै मालपोत भूमिकरबाट प्राप्त आम्दानीलाई कृषि क्षेत्रमा लगानी, सहकारीमार्फत सम्भाव्यताको आधारमा ‘एक पालिका एक उत्पादन’ ढाँचामा जग्गा बाँझो नहुने गरी सहकारी खेती फार्मको प्रवद्र्धनमा पहल र यसका लागि माटो तथा हावापानीको परीक्षण अघि बढाउने भएको छ ।

 

गोदावरीले विद्यालय शिक्षा सुधारका लागि कक्षा १ मा २५ जनाभन्दा बढी विद्यार्थी भर्ना गराई अन्तिम परीक्षामा समेत सहभागी गराउने विद्यालयलाई २० हजार रुपैयाँको दरले प्रोत्साहन अनुदानको व्यवस्था मिलाउनाका साथै प्रारम्भिक बाल विकास शिक्षकलाई प्रतिमहिना प्रतिशिक्षक १ हजारका दरले पारिश्रमिक दिने र मातृभाषामा प्राथमिक शिक्षा दिने व्यवस्थाको पहल गर्ने भएको छ । रासस

भारतमा भयावह बन्दै कोरोना, एकैदिन हालसम्मकै धेरै संक्रमित Read Previous

भारतमा भयावह बन्दै कोरोना, एकैदिन हालसम्मकै धेरै संक्रमित

घातक पाउडर बेचेको आरोपमा जोन्सन एन्ड जोन्सनलाई २ अर्ब १० करोड डलर जरिवाना Read Next

घातक पाउडर बेचेको आरोपमा जोन्सन एन्ड जोन्सनलाई २ अर्ब १० करोड डलर जरिवाना