लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त

काठमाडौं । एनआइसी एशिया लघुवित्तले आजदेखि प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन खुला गरेको छ ।

 

लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आइपीओ निष्काशन गरेको हो । यो लघुवित्त क्षेत्रमा निष्काशन भएको हालसम्मकै सबैभन्दा ठूलो आइपीओ हो । हाल सम्म कुनैपनि लघुवित्त कम्पनीहरुले यस रकम बराबरको आइपीओ निष्काशन गरेका छैनन्।

 

लघुवित्तले निष्कासन गरेको आइपीओमध्ये ७४ हजार कित्ता (०.५ प्रतिशत) कर्मचारीहका लागि र २ लाख ३७ हजार ८०० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ४४ लाख ४३ हजार २०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

 

१०० रुपैयाँ अंकित मूल्यमा निष्कासन हुन लागेको लघुवित्तको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिने छ । लघुवित्तको आइपीओमा असार १४ गतेसम्म आवेदन दिन पाइन्छ । यदि सो अवधिसम्म पूरै आवेदन नपरेको खण्डमा ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

 

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।इच्छुक लगानीकर्ताले नजिकको एनआइसी एशिया बैंकका शाखा, सानिमा क्यापिटल, सी–आस्वा सदस्याता लिएका बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको आइपीओले ‘केयर एनपी आईपीओ ग्रेड ४ प्लस’ प्रमाणपत्र प्राप्त गरेको छ। केयर एनपि आईपिओ ग्रेड ४ प्लसले औसत भन्दा कमजोर आधारहरु जनाउँछ।

 

कति कित्ताका लागि आवेदन दिनु उपयुक्त

 

लघुवित्तले सर्वसाधारणमा ४४ लाख ४३ हजार २०० कित्ता सेयर निष्काशन गरेको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

 

सो अनुसार लघुवित्तको आइपीओ ४ लाख ४४ हजार ३२० जना आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड गर्न पुग्दछ। आइपीओमा ४ लाख ४४ हजार ३२० भन्दा कम आवेदक भएको खण्डमा सबै आवेदकलाई १० कित्ता सेयर बाँडफाँड गर्न पुग्छ। यदि सो भन्दा धेरै आवेदकबाट आइपीओमा आवेदन गरेको खण्डमा सेयर बाँडफाँड गोलाप्रथामा जानेछ भने थोरै संख्यामा आवेदन परेको खण्डमा आवेदकले गोलाप्रथाबाट थप १० कित्ता गरी २० कित्तासम्म पाउन सक्छन्।

 

हालसम्म खेलेका आइपीओमा ३ देखि ४ लाखले आवेदन दिँदै आएका छन् । त्यसका आधारमा यस आइपीओमा अधिकतम २० कित्ताका लागि २ हजार रुपैयाँ बराबरको आवेदन दिँदा उपयुक्त हुने देखिन्छ ।

 

यस्तो छ कम्पनीको वित्तीय  अवस्था

 

कम्पनीले हाल २० जिल्लामा आफ्नो ७० वटा शाखा कार्यालयहरु स्थापना गरी लघुवित्त कारोबार गर्दै आइरहेको छ ।

 

हाल १ अर्ब ४५ लाख १० हजार रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी आइपीओ निष्काशनपछि १ अर्ब ४८ करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापकको हिस्सा ६७.८७ प्रतिशत अर्थात १ अर्ब ४५ लाख रुपैयाँ छ भने आइपीओ पश्चात सर्वसाधरणको हिस्सा ३२.१३ प्रतिशत अर्थात ४७ करोड ५५ लाख बराबरको सेयर कायम हुनेछ ।

 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १२ करोड २७ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको । यस अवधिमा कम्पनीको जगेडा कोषको आकार २२ करोड ७५ लाख ९ लाख रुपैयाँ छ ।

 

कम्पनीको प्रतिसेयर नेटवर्थ १२२.६४ रुपैयाँ, प्रतिसेयर आम्दानी १९.६१ रुपैयाँ, खराब कर्जा अनुपात ०.३२ प्रतिशत, लगानीमा प्रतिफल १८.०३ प्रतिशत रहेको छ।

 

 

ग्राहकबाट उठाएको महसुल अपचलन गर्ने प्राधिकरणका ८ कर्मचारी विरुद्ध मुद्दा Read Previous

ग्राहकबाट उठाएको महसुल अपचलन गर्ने प्राधिकरणका ८ कर्मचारी विरुद्ध मुद्दा

अमेजनले जलवायु परिवर्तन विरूद्ध लड्न २ अर्ब डलर लगानी गर्ने Read Next

अमेजनले जलवायु परिवर्तन विरूद्ध लड्न २ अर्ब डलर लगानी गर्ने