काठमाडौं । सरकारले नागढुंगा नौबिसे सुरुङमार्ग निर्माणमा अधिग्रहणमा पर्ने गुठीका मोहीहरुलाई ५० प्रतिशत मुआब्जा दिने भएको छ ।
असार २ गते बसेको मन्त्रिपरिषद्को बैंकले सुरुङमार्गमा पर्ने श्री ५ वायु गुठीका मोहीलाई ५० प्रतिशत मुआब्जा दिने निर्णय गरेको हो ।
२.६७ किलोमिटर लामो उक्त सुरुङमार्गमा करिब २५ रोपनी गुठीको जग्गा अधिग्रहण गर्नु पर्ने आयोजनाले जनाएको छ ।
गत कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको उक्त सुरुङमार्ग साढे ३ वर्षभित्र निर्माण सम्पन्न हुनेछ । सो सुरुङमार्ग निर्माणका लागि १३ अर्ब ५० करोड रुपैयाँ खर्च हुनेछ ।
जापान सरकारले ४० वर्षभित्र तिर्ने गरी सो सुरुङ मार्गका लागि शून्य दशमलव शून्य १ प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको छ ।
पछिल्लो समय कोरोना रोकथामका लागि लगाइएको लकडाउनका कारण सुरुङमार्गको कामले गति लिन सकेको छैन ।