माथिल्लो तामाकोशीको सबैभन्दा जटिल पेनस्टक पाइप जडान सकिँदै, भौतिक प्रगति ९९.५ प्रतिशत

काठमाडौं । सरकारले लकडाउन गरेपनि एकाध दिन बाहेक काम नरोकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धी काम यसै साता सकिने भएको छ ।

 

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको जटिल मानिएको दुई ठाडो सुरुङको कामसमेत लकडाउनको समयमा उल्लेख्य प्रगति मात्रै भएन सम्पन्न नै हुने चरणमा पुगेको छ ।

 

आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेका अनुसार कुल ६८३ मिटर लामो दुई ठाडो सुरुङमध्ये २२.५ मिटर मात्रै बाँकी छ । गत असारदेखि ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काम शुरु भएको थियो । वर्षदिनमा जटिल काम सम्पन्न हुन लागेको हो ।

 

प्राप्त विवरणअनुसार कुल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमध्ये हालसम्म २८७.५ मिटरमा पाइप जडानको काम भइसकेको छ । प्रवक्ता न्यौपानेका अनुसार अब बाँकी २२.५ मिटर मध्ये २० मिटर शुक्रबारसम्म काम सम्पन्न गरिनेछ । बाँकी रहने २.५ मिटर भने तेर्सो पाइपमा जोड्नुपर्ने भएकाले जडानका लागि थप केही समय लाग्नेछ ।

 

कुल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङको पाइप जडान सम्पन्न भएको छ । पाइप जडानको काम सकिएपछि अष्ट्रियन कम्पनीले थप कामका लागि भारतीय कम्पनीलाई जिम्मा लगाउँछ । एउटा पाइप राख्न न्यूनतम पाँच दिन लाग्ने भएकाले आगामी शुक्रबारसम्म ठाडो सुरुङमा पाइप जडानको काम सकिनेछ ।

 

तल्लो ठाडो सुरुङको काम अष्ट्रियन निर्माण व्यवसायी एन्ड्रिज हाइड्रोले गरेको हो । कार्यकुशलता देखाउन नसकेको भारतीय निर्माण व्यवसायी टेक्सम्याकोले लकडाउनको समयमा आफूलाई अब्बल सावित गरेको छ ।

 

प्राप्त विवरणअनुसार कुल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमध्ये हालसम्म २८७.५ मिटरमा पाइप जडानको काम भइसकेको छ । प्रवक्ता न्यौपानेका अनुसार अब बाँकी २२.५ मिटर मध्ये २० मिटर शुक्रबारसम्म काम सम्पन्न गरिनेछ । बाँकी रहने २.५ मिटर भने तेर्सो पाइपमा जोड्नुपर्ने भएकाले जडानका लागि थप केही समय लाग्नेछ ।

 

‘सम्पन्न भएको स्थानमा कङ्क्रिट गर्ने काम बाँकी छ, ती काम सँगसँगै अगाडि बढ्छ । एउटा सकारात्मक अवस्थामा हामी पुगेका छौं । लकडाउनको समयमा सहज रुपमा काम हुनु आफैमा खुसीको विषय बनेको छ,’ प्रवक्ता न्यौपानेले भने ।

 

माथिल्लो र तल्लो ठाडो सुरुङको बीचको १०० मिटर लामो सुरुङमा पाइपनै जडान गरिने भएकाले असजिलो काम सकिएपछि निर्माण व्यवसायी सो कामका लागि परिचालित हुनेछ । चालू आव सकिने दिनसम्म आयोजनाको काममा उल्लेख्य प्रगति हासिल हुने विश्वास लिइएको छ ।

 

आयोजनामा लगानी गर्ने सेयरधनी १० लाख बढी छन् । नियमितरूपमा पूर्ण क्षमतामा काम हुन पाएको भए राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम करिब सम्पन्न हुने अवस्थामा पुग्ने थियो ।

 

लकडाउनपछि आयोजनाको काम केही समय प्रभावित भयो । एकाध दिन रोकिए पनि आयोजनाले सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम चालू नै राखियो । यसअघि तय गरिएको कार्यतालिकामा निर्माण सकिएको भए दैनिक करिब ५ करोड बराबरको क्षतिसमेत नहुने अवस्था आउने थियो । भूकम्प, नाकाबन्दी र कोरोना कहरसँग जुधेर आयोजनाले आयोजना सम्पन्न हुने चरणमा पुगेको हो ।

 

यस्तै आयोजनाको सुरुङको तेर्सो स्थानमा जडान हुने केही पाइपको पनि जडानको काम अगाडि बढाउने र घुमेको पाइप जडानको काममा समेत गति दिन लागिएकाले एकाध दिन भित्रै सम्पन्न हुनेछ । सुरुङमा क्रङक्रिट लाइनिङ र ग्राउटिङको काम भइरहेको छ । बाँधस्थलको गत वैशाखमानै परिक्षण सम्पन्न भइसकेको छ । प्रसारण लाइन निर्माणको काम पूरा भइसकेको छ ।

 

राष्ट्रिय गौरवको आयोजना भएकाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लकडाउनको समयमा गृह मन्त्रालयसँग आवश्यक समन्वय गरेर निर्माण सामग्रीको ढुवानीमा सहजीकरण गरिदिएका थिए । आयोजनाले यसअघि केही अत्यावश्यक सिमेन्ट, रडलगायत सामग्रीको नियमित आपूर्ति गरेको थियो । आयोजनास्थलमा लकडाउनको समयमा झण्डै ६५० श्रमिक कार्यरत थिए ।

 

विद्युत् उत्पादन गर्ने उपकरणलगायत सामग्री भने जडान गरेर तम्तयारी हालतमा राखिएको छ । पाइप जडानलगायत अन्य प्राविधिक काम सम्पन्न गरेर सकेसम्म चाँडो पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीमा नेपाल विद्युत् प्राधिकरण जुटेको छ । एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनामा कुल ६ वटा विद्युत् उत्पादन गर्ने युनिट छन् ।

 

सरकारले विशेष व्यवस्था गरेर राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने प्रबन्ध गरेको छ । पछिल्लोपटक यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले माथिल्लो तामाकोशीलगायत आयोजनालाई लकडाउनको समयमा काम गर्न सक्ने गरी विशेष व्यवस्था गरेका कारण सहज भएको प्रवक्ता न्यौपानेको भनाइ छ ।

 

कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको हाल भौतिक प्रगति ९९.५ प्रतिशतको हाराहारीमा पुगेको छ । आयोजनाले भने अब प्रगति मापन नगर्ने, काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । प्रसारण लाइन निर्माण र सवस्टेशनको काम सम्पन्न हुने चरणमा पुगेको छ ।

 

कुल २२० केभी क्षमताको प्रसारणलाइन निर्माण सकिएको भए पनि केही मल्टिसर्किटका टावरमा केही काम बाँकी रहेको आयोजनाले जनाएको छ । सरकारले आगामी आवको पहिलो चौमासमा माथिल्लो तामाकोशी र मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने जनाएको छ । रासस

बुक बिल्डिङ प्रणाली लागू गर्ने बोर्डको तयारी, अब आइपीओ १०० रुपैयाँमा नपाइने (मस्यौदा सहित) Read Previous

बुक बिल्डिङ प्रणाली लागू गर्ने बोर्डको तयारी, अब आइपीओ १०० रुपैयाँमा नपाइने (मस्यौदा सहित)

थप ५३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या साढे ९ हजार नाघ्यो, एकैदिन ३७० निको भए Read Next

थप ५३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या साढे ९ हजार नाघ्यो, एकैदिन ३७० निको भए