काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यून आय भएका व्यक्तिलाई स्वरोजगार हुन व्यावसायिक तालिम प्रदान गर्ने भएको छ ।
इच्छुक व्यक्ति वा समूहहरुलाई व्यावसायिक तालिम प्रदान गरी आफैले व्यवसाय सञ्चालन गर्न आवश्यक बीउ, पूँजी सहुलियत ऋणको रुपमा व्यवस्था गरिने कार्यनीतिमा उल्लेख छ । यसबाट करिब १ हजार घरपरिवार लाभान्वित हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आन्तरिक स्रोत समेत थप गरी प्रभावकारी बनाइने भनिएको छ । आगामी आर्थिक वर्षमा बेरोजगार लक्षित हाटबजार संचालन तथा महानगरका १० स्थानमा बिक्री केन्द्र स्थापना गरिने नीति तथा कार्यक्रम रहेको छ ।
रोजगार सेवा केन्द्रलाई थप व्यवस्थित गरी श्रम बैंक स्थापना गर्ने नेपाल सरकारको योजनालाई महानगरका ३२ वटै वडामार्पmत संस्थासँग सहकार्य गरिने छ ।
विभिन्न विषयगत क्षेत्रहरुका लागि आवश्यकताका आधारमा महानगरस्तरीय एकीकृत सीप विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरुमा नेपाली वस्तुहरुको बजार कोशेली घर वा यस्तै प्रकृतिका अन्य बजार विस्तार गरिनेछ । मरुटोलमा रहेको सिंहसत्तललाई गैर सरकारी संस्थासँगको सहकार्यमा निर्यात प्रबद्र्धन केन्द्रको रुपमा विकास गरिने छ । साथै मेड इन काठमाडौं अभियान सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
युवाहरुको नवीन सोच तथा प्रविधिप्रतिको आकर्षणलाई ध्यानमा राखी काठमाडौं हब (के हब) को स्थापना गरिने नीति कार्यक्रममा उल्लेख छ । स्टार्टअपको माध्यमबाट उद्यमी बन्न चाहने युवाहरुलाई उत्पादन डिजाइन, प्रविधि, बजार, वित्त व्यवस्था, कानून आदिको परामर्श एकै स्थानमा उपलब्ध गराइने व्यवस्था गरेको छ ।
कोभिड १९ महामारीले लघु, घरेलु तथा साना उद्योगमा पारेको प्रभावलाई सम्बोधन गर्न ‘रिभोल्भिङ फन्ड’ को स्थापना गरी कार्यविधिको आधारमा सहुलियत दरमा ऋण प्रदान गरिनेछ ।
महानगरले आफुले लिने करमा समेत छुट दिने व्यवस्था गरेको छ । महानगरभित्र संचालित होटेल, रेष्टूराँ, सपिङ्गमलहरु, डे/नाइट मार्केट लगायत अन्य व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान गर्ने नीति लिइनेछ ।
अनलाइन वा घरैबाट व्यवसाय/उद्यम गर्न चाहने स्थानीयवासीलाई वित्तिय संस्थाहरुको सहकार्यमा व्यावसायिक कार्य योजना बनाउन तथा सहुलियत ऋणको लागि सहजीकरण गर्ने नीति लिइनेछ ।