काठमाडौं । करिब ३ महिनादेखि बन्द रहेको सेयर बजार अझै अनिश्चितकालका लागि बन्द हुने भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्रको कारोबार अनिश्चितकालका लागि बन्द रहने जनाएको हो ।
नेप्सेको शनिबार बसेको सञ्चालक समितिको बैंठकले धितोपत्र बोर्डको अर्को निर्देशन नआउँदासम्म असार ७ गते (आइतबार) देखि सेयर बजार बन्द रहने निर्णय गरेको हो ।
गत जेठ १ गते नेपाल धितोपत्र बोर्डले सरकारले गरेको लकडाउनको अवधि कायम रहँदासम्म बजार नखोल्ने निर्णय गरेकाले सोही बमोजिम सेयर पूजी बजार स्थगित भएको नेप्सेले बताएको छ ।
यसअघि नेप्सेले गत बिहीबारसम्म बजार स्थगित रहेको सूचना जारी गरेको थियो । यसकारण आइतबारदेखि बजार खुल्ने आंकलन गरिएको थियो । धितोपत्र बोर्डले अर्को निर्देशन नआउँदा सम्म बजार नखुल्ने नेप्सेले जनाएको छ ।
कारोना नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन लगाएसँगै बन्द रहेको बजार बीचमा २ दिन खुलेर फेरि बन्द भएको थियो । करिब ३ महिना लामो समय बजार बन्द गर्दा लाखौं लगानीकर्ताको खर्बौंको सम्पत्ति बन्धक बनेको छ ।
सरकार र सरोकारवाल निकायको अक्षमता र लापारबाहीका कारण लगानीकर्ता आफ्नो सम्पत्ति बन्धक बनाउन बाध्य भएका छन् भने अर्कोतिर राज्यले पनि दैनिक करोडौं राजश्व गुमाउनु परेको छ ।