रानीपोखरी पुनःनिर्माणको काम धमाधम हुँदै, २ महिनाभित्र सम्पन्न हुने

काठमाडौं । आगामी दुई महिनाभित्र सक्ने गरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण तीव्र रुपमा अघि बढेको छ ।

 

गत वैशाखमा नै सक्ने गरी काम अघि बढिरहे पनि विश्वभरि फैलिएको कोरोना भाइरसका कारण देश पूर्ण रुपमा बन्दाबन्दी भएपछि गत चैतदेखि काम अघि बढ्न सकेको थिएन ।

लामो समयपछि जेठको पहिलो सातादेखि नै निर्माणको काम केही शुरु गरिए पनि कामदारको अभावका कारण काम हुन सकेको थिएन । सरकारले केही दिनअघिदेखि बन्दाबन्दीलाई केही खुकुलो बनाएपछि अहिले निर्माणको काम आशानुरुप भइरहेको राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले जनाएको छ ।

 

अहिले रानीपोखरीको पुनः निर्माणको कामअन्तर्गत पोखरीमा माटो लगाउने काम सकिएको छ भने बालगोपालेश्वर मन्दिरको काम भइरहेको छ । हालसम्म पोखरीको ७५ प्रतिशत काम सकिएको प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए।

 

उनका अनुसार हाल ३२ कामदारले दैनिक काम गरिरहेका छन् । सहज भएसँगै थप कामदार ल्याउने तयारी भएको छ । पोखरीमा कस्तो र कहाँबाट पानी राख्ने विषयमा भने छलफल भइरहेको मानन्धरले जानकारी दिए ।

 

विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय पुनःनिर्माण प्राधिकरणले जिम्मा पाएपछि कामले गति लिएको हो ।

 

कोरोना भाइरसका कारण केही समय ढिला भए पनि अबको केही महिनाभित्र पोखरीको पुनःनिर्माणको कामले पूर्णता पाउने प्राधिकरणको जिकिर छ ।

 

शुरुमा काठमाडौं महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पनि पुनःनिर्माणको काम अघि बढ्न नसकेको हो ।

 

मन्त्रिपरिषद्को विसं २०७५ माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माण गर्ने गरी प्राधिकरणलाई जिम्मेवारी दिएपछि निर्माणको काम अघि बढेको हो ।

 

मन्दिर पुरानै शैली (ग्रन्थकूट/शिखर) शैलीमा पुनःनिर्माण गर्न गत वर्ष असार २४ गते प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको दिनदेखि १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले निर्माण कम्पनी शेयर तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको छ ।

 

गोरखा भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गरेका थिए ।

 

रानीपोखरी पुनःनिर्माणका लागि प्राधिकरणले उपभोक्ता समितिमार्फत ९ करोड ९७ लाख बजेट विनियोजन गरेको छ । पोखरी र मन्दिर निर्माणका लागि २५ करोड बजेट विनियोजन भएको छ । चन्द्रशम्शेरको पालामा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिनेछ । मन्दिरको उचाइ ५३ फिटको हुनेछ ।

 

राजा प्रताप मल्लले छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन पाँच वर्ष लगाएर विसं १७२५ मा ‘न्हु पुखु’को निर्माण गराई विसं १७२७ मा शिलापत्र राखेका थिए । पोखरीमा गोसाइँकुण्डलगायत नेपाल र भारतका १०८ विभिन्न तीर्थको जल हालिएको इतिहासकार बताउँछन् ।

 

प्रताप मल्लले पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । सोअनुसार उत्तर-पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर-पूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिण-पश्चिममा सोह्रहाते गणेश स्थापना भएको थियो ।

जनकपुर-जयनगर रेलमार्ग सञ्चालनको तयारी, रेलको सेट सीमा नजिक आइपुग्यो Read Previous

जनकपुर-जयनगर रेलमार्ग सञ्चालनको तयारी, रेलको सेट सीमा नजिक आइपुग्यो

सांसदले खर्च गर्न नसकेको पैसा कोरोना कोषमा जम्मा गर्ने सरकारको निर्णय Read Next

सांसदले खर्च गर्न नसकेको पैसा कोरोना कोषमा जम्मा गर्ने सरकारको निर्णय