यय वर्ष एशियाका ३४ देशको आर्थिक वृद्धिदर नकारात्मक हुने, चीनलाई भने ठूलो असर नपर्ने

काठमाडौं । कोरोना भाइरसका कारण यसवर्ष एशियाली देशहरुको अर्थतन्त्र नराम्ररी प्रभावित हुने भएको छ ।

 

एशियाली विकास बैंक (एडीबी) ले एशियाली अर्थतन्त्रको वृद्धिदर संशोधन गर्दै सार्वजनिक गरेको एशियन डेभलपमेन्ट आउटलुकको संशोधित प्रतिवेदन अनुसार २०२० मा एशियाका करिब ३ दर्जन देशहरुको अर्थतन्त्र नकारात्मक हुने प्रक्षेपण गरेको हो ।

 

एडिबीले कोरोनाका कारण विकसाशील देशको अर्थतन्त्र शिथिल भएकाले यस वर्ष आर्थिक वृद्धिदरमा ठूलो संकुचन आउने बताएको हो ।

 

एशियाकै ठूलो अर्थतन्त्रको रुपमा रहेको भारत, दक्षिण कोरिया जस्ता देशको आर्थिक वृद्धिदर ऋणत्मक हुने एडीबीको प्रतिवेदनमा उल्लेख गरिएको छ भने उत्तर कोरिया, जापान, मध्यपूर्वी एसियाबारे उल्लेख गरिएको छैन ।यो वर्ष एशियामा सबैभन्दा धेरै बंगलादेशको ४.५ प्रतिशत आर्थिक वृद्धि हुने एडीबीको प्रक्षेपण छ ।

 

२०२० मा फिजी, माल्दिभ्स, कुक्स आइल्यान्ड भानुआटु र पलाउको आर्थिक वृद्धिदर १० प्रतिशतभन्दा बढी ऋणात्मक हुने एशियाली विकास बैंकको अनुमान छ । एडीबीले यसअघि प्रकाशन गरेको आउटलुकमा यी देशहरुको अर्थतन्त्र ऋणत्मक हुने प्रक्ष्येपण गरिएको थियो ।

 

अघिल्लो अनुमानभन्दा उल्लेखित देशको आर्थिक वृद्धिदरमा ५ देखि ११ प्रतिशतको प्रभाव पर्ने बताइएको छ । सबै देश पर्यटकीय गन्तव्य हुन् ।

 

आर्थिक वृद्धिदर नकारात्मक हुनेमा दक्षिण एशियाका ५ देश छन् । बैंकका अनुसार बंगलादेश, नेपाल र भुटानबाहेक सबै दक्षिण एशियाली देशको अर्थतन्त्र खुम्चनेछ । त्यसमध्ये बंगलादेशले सर्वाधिक ४.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नेछ । यो आर्थिक वृद्धिदर एशियाका सबै देशमध्ये उच्च हो ।

 

एडीबीको आउटलुकमा सन् २०२० मा अफगानिस्तानको आर्थिक वृद्धिदर ४.५ प्रतिशतले, भारतको ४ प्रतिशतले, पाकिस्तानको ०.४ प्रतिशतले र श्रीलंकाको ६.१ प्रतिशतले नकारात्मक हुने उल्लेख छ । भुटान र नेपालको भने क्रमशः २.४ र २.३ प्रतिशतले उकालो लाग्नेछन् ।

 

एडीबीले यसअघि नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशतले सकारात्मक हुने अनुमान गरेको थियो । नेपाल सरकारले पनि आर्थिक वृद्धिदर २.२७ प्रतिशत हासिल हुने अनुमान गरिसकेको छ ।

 

एडीबी पूरक आउटलुकमा पूर्वी एसियाबाहेक सबै क्षेत्रगत आर्थिक वृद्धिदर नकारात्मक रहने उल्लेख छ । पूर्वी एसियामा चीन र ताइवानको सकारात्मक आर्थिक वृद्धिले साथ दिएको छ । तर, बाँकी देशहरू हङकङ, मंगोलिया र कोरियाको आर्थिक वृद्धिदर भने नकारात्मक हुनेछ ।

 

जसमा तीन दक्षिण एशियाली देशबाहेक तुर्किमेनिस्तान, उज्वेकिस्तान, चीन, ताइवान, ब्रुनाई, म्यान्मार, भियतनाम, किरिबाटिर टुभालुको अर्थतन्त्र विस्तार हुने उल्लेख छ ।

 

यसरी विकासशील एशियाको आर्थिक वृद्धिदर २.२ प्रतिशतबाट संशोधन गर्दै ०.१ प्रतिशत कायम गरेको छ । यो आर्थिक वृद्धिदर सन् १९६१ यताकै न्यून हो । एडिबीले २०२१ मा यो क्षेत्रको वृद्धिदर ६.२ प्रतिशत हुने अनुमान पनि गरेको छ ।

 

चीनको अर्थतन्त्रमा भने ठूलो असर नपर्ने

 

एडीबीका अनुसार कोरोनाले एशियाका प्रायः सबै देशहरुको अर्थतन्त्रमा ठूलो असर पार्ने भएपनि चीनमा भने ठूलो असर नपर्ने बताइएको छ ।

 

बैंकले सार्वजनिक गरेको एशियाली विकास पूरक आउटलुकमा चीनबाहेक अन्य देशको अर्थतन्त्रमा कोरोना भाइरसको गहिरो प्रभाव पर्ने देखिन्छ ।

 

सन् २०२० मा चीनको अर्थतन्त्र १.८ प्रतिशतले विस्तार हुनेछ । जबकि ३४ एशियालीको आर्थिक वृद्धिदर नकारात्मक हुनेछ ।

 

कोरोनाको उद्गमस्थल चीनले अन्यदेशको तुलनामा छिट्टै कोरोना नियन्त्रणमा लिई आर्थिक गतिविधि सञ्चालन गरेको हुनाले उसको अर्थतन्त्रमो ठूलो असर नपर्ने एडीबीको दाबी छ ।

नागरिक लगानी कोषले १२ अर्ब मुद्दति निक्षेपमा राख्ने Read Previous

नागरिक लगानी कोषले १२ अर्ब मुद्दति निक्षेपमा राख्ने

सरकारले युवालाई १०० प्रकारका सीप विकास तालीम दिने, १५ अर्ब खर्च हुने Read Next

सरकारले युवालाई १०० प्रकारका सीप विकास तालीम दिने, १५ अर्ब खर्च हुने