काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूर्ण अनलाइन प्रणालीबाट कारोबार गर्ने व्यवस्था मिलाउन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई निर्देशन दिएको छ।
बोर्डले बैंक खाता तथा डिम्याट खाता आबद्ध गरी धितोपत्र कारोबार सञ्चालन गर्ने व्यवस्था मिलाउन नेप्सेलाई निर्देशन दिएको हो ।
बोर्डले आगामी साउन १ गतेदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र रकम प्राप्त गर्ने र भुक्तानी दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
‘धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा आइपीएस वा विद्युतीय माध्यम मार्फत गर्नुपर्ने र धितोपत्र खरीद गर्दा आइपीएस वा विद्युतीय माध्यम मार्फत गर्न प्रोत्साहित गर्ने तर २०७७ श्रावण १ गतेदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र रकम प्राप्त गर्ने र भुक्तानी दिने व्यवस्था गरी सो बमोजिम ब्रोकरले खाता अद्यावधिक गर्ने गराउने व्यवस्था मिलाउनू,’ बोर्डले दिएको निर्देशनमा भनिएको छ ।
यस्तै बोर्डले स्वचालित कारोबार तथा राफसाफका लागि लगानीकर्ताहरुले गरेको कारोबार स्वचालित रुपमा बैंक खातामा रकम तथा डिम्याट खातामा सेयर जम्मा र खर्च हुने व्यवस्था मिलाउन भनेको छ ।
साथै स्वचालित रुपमा नै कारोबार भएको दिन बैंक खाताबाट रकम प्राप्त गरी विभिन्न निकायहरुको कमीशन, कर, मूल्य सम्बन्धित निकायको खातामा सोही दिन स्वचालित रुपमा नै जम्मा हुन सक्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।