काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानको समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रालयले चैते धानको मूल्य प्रतिक्वीन्टल २ हजार ७३५ रुपैयाँ र बर्खे धानको मूल्य प्रतिक्वीन्टल २ हजार ८८५ रुपैयाँ निर्धारण गरेको छ ।
तराईमा रोपिने चैते धानलाई मोटो धान पनि भन्ने गरिन्छ । हाल तराईमा धान भित्राउने बेला भएको छ । पहाडी क्षेत्रमा वर्षेधान रोपाइको तयारी भइरहेको छ ।
यस्तो वेला निर्धारण भएको मूल्यले चैतेधान बिक्री गर्न किसानलाई धेरै सहज हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले यो वर्ष बर्खे धान लगाउनु अघि नै धानको मूल्य तोकिएको बताएका छन् ।
उनले सरकारले यो वर्ष धानको समर्थन मूल्य बाली लगाउनुअघि नै निर्धारण गर्ने योजना बनाएकोले त्यसैअनुसार लागत तयार गरेको बताए । ‘कुल लागतमा १० प्रतिशत ढुवानी खर्च र २० प्रतिशत किसानको मुनाफा जोडेर मूल्य तय भएको हो,’ केसीले भने ।