काठमाडौं । पशुपतिको मुख्य मन्दिर परिसरमा सरसफाइ र खानेपानी सम्बन्धी परियोजना सञ्चालन गर्न सम्झौता भएको छ ।
सम्झौतापत्रमा नेपाल सरकारकातर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विकास सहायता समन्वय शाखा प्रमुख रेशम कँडेल, काठमाडौं महानगरकातर्फबाट पूर्वाधार विकास विभागका प्रमुख राम थापा र भारतीय दूतावासकातर्फबाट डिभलपमेन्ट कोअपरेसन काउन्सिलर डा. प्रफुल्लचन्द्र शर्माले हस्ताक्षर गरेका छन् ।
भारत सरकारको सहयोगमा सञ्चालन हुने साना विकास परियोजना अन्तर्गत भारतीय दूतावासको ८० प्रतिशत (३ करोड ७२ लाख ३१ हजार १६२ रुपैयाँ) र काठमाडौं महानगरको २० प्रतिशत (१ करोड ४५ लाख ७९ हजार १४४ रुपैयाँ) लागत सहभागिता रहने परियोजनाको लागत ५ करोड १८ लाख १० हजार ३०६ रुपैयाँ रहेको छ । परियोजना सञ्चालनको यो रकम सरकारको बजेट विनियोजनको प्रणालीअन्तर्गत सशर्त अनुदानका रुपमा प्राप्त हुनेछ ।
सहरी समृद्धिका लागि पूर्वाधार निर्माण, वातावरणीय सुधार, सामाजिक तथा आर्थिक पुनरुत्थानका काममा महानगरले आफ्नै श्रोतमा पनि धेरै काम गरिरहेको छ ।
मन्त्रालयको विकास सहायता समन्वय शाखा प्रमुखले कँडेलले पशुपतिको दर्शन गर्न जाने श्रद्धालुलाई मन्दिर परिसरको वातावरणीय अवस्थाले नकारात्मक समस्या नपरोस् र सुबिधामा समस्या नहोस् भनेर सुधारात्मक परियोजना सञ्चालन गर्न थालिएको बताए ।
परियोजनामा खानेपानी वितरण प्रणाली सुधार, ढल निर्माण, सरसफाइ तथा फोहोरमैला व्यवस्थापनको काम हुनेछ । परियोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।