काठमाडौं । पछिल्लो समय दुग्ध क्षेत्रमा उत्पादन बढ्दो क्रममा रहेको छ । तर, लकडाउनसँगै घटेको दूधको खपत घट्न थालेपछि दूधलाई अन्य सामग्रीमा परिणत गर्न थालिएको छ ।
दुग्ध विकास संस्थान (डीडीसी)ले अहिले उत्पादन भएको दूधलाई खेर जान नदिन धुलो दूध, चिज, बटर लगायत दूग्धजन्य पदार्थ बनाइरहेको छ । यसरी बनाएको वस्तुको म्याद सिमित अवधिसम्म रहने र यस्ता वस्तुको सुरक्षित भण्डारणका कोल्ड स्टोरमा राख्नु पर्दछ ।
डीडीसीले लकडाउन अवधिभर उत्पादन गरेको चिज, बटर, पनिर जस्ता वस्तु राख्नका लागि कोल्ड स्टोर आवश्यक भएको जनाएको छ । अहिले उत्पादन भएका वस्तुले आफ्ना सबै कोल्ड स्टोर भरिएकाले अब निजी कोल्ड स्टरहरुमा भाडा तिरेर राख्नु पर्ने अवस्था सृजना भएको डीडीसीले जनाएको छ ।
उत्पादित वस्तु राख्ने ठाउँ नभएपछि अहिले डीडीसीले मासिक ९ लाख रुपैयाँ भाडा तिरेर निजी कोल्ड स्टोरहरुमा चिज, बटर लगायतका वस्तु स्टोर गरेको छ ।
दुग्ध क्षेत्रमा कुल ३४ प्रतिशतले व्यापारमा कमी आएको डीडीसीका संजीव झाले बताए । उपत्यकामा मात्र दुग्ध व्यापारमा १८ प्रतिशत कमी आएको छ । उत्पादन बढे पनि सबै कोल्ड स्टोरमा स्टकमा राख्नु पर्ने बाध्यता रहेको उनले बताए ।
‘उत्पादन दैनिक बढ्दै छ, खपत छैन, चिज, बटर बनाएर कोल्ड स्टोरमा राखे पनि कहिलेसम्म राख्ने हो, यहाँ चिज, बटरको महत्व नै छैन,’ झाले चाणक्य पोष्टसँग भने ।
उनले निजी कोल्ड स्टोरहरुमा मासिक ९ लाख रुपैयाँ भाडा तिरेर चिज, बटर लगायतका सामग्री स्टोर गरिएको बताए ।६०० मेट्रिकटन भन्दा बढी बटर स्टकमा राखिएको छ । ८५० मेट्रिकटन धुलो दूध उत्पादन भएको उनले जानकारी दिए । ‘उत्पादन भएर मात्र भएन, बजारमा विक्री हुनै धौँ, धौँ छ, भाडा के गरी तिर्ने थाहा छैन,’ झाले भने ।
हालसम्म ४० हजार लिटर दूध खपत हुन नसकेर पाउडरमा परणत गरिएको उनले बताए । सुजल र विराटनगर उद्योगमा दूधलाई पाउडर बनाउने काम हुँदै आएको थियो ।
उनका अनुसार, रेष्टुरेन्ट, होटल तथा क्यानटिनहरु खुल्न थालेभने खपत केही बढ्ने अपेक्षा गरिएको छ । चिज तथा बटर प्राय होटल तथा रेष्टुरेन्टमा विक्री हुने तर, लकडाउनका कारण सबै बन्द अवस्थामा रहेका छन् । सो कारणले हाल बनेको चिज तथा बटरहरु कोल्ड स्टोरमै थन्किएको छ ।
यसको खपतका लागि सरकारले हालसम्म कुनै पनि उपाय निकाल्न सकेको छैन । आगामी समयमा यसको स्टक क्लियरेन्सका लागि केही उपाय मन्त्रालयले ल्याउछ कि भन्ने पर्खाइमा डीडीसी रहेको छ ।
दुग्ध क्षेत्रमा असरा साउनमा धेरै दूध खपत हुने गर्थ्यो । यो पटकका लागि लकडाउन अघि मन्त्रालयले दूध उत्पादनमा कमी आए झोल दूध आयात गर्नु पर्ने हुन सक्ने बताउँदै आएको थियो । लकडाउनका कारण यो पटक दूध खपत हुन सकेको छैन । यसले धुलो दूधको उत्पादन समेत बढाएको छ ।