काठमाण्डौ । टर्कीका व्यवसायीहरुलाई नेपालमा लगानी गर्न नेपाल सरकारले आग्रह गरेको छ । बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टर्कीका व्यवसायीहरुलाई भर्चुअल बैठक गदै नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।
मन्त्री भट्टराईले नेपालमा लगानी गर्ने प्रसस्तै अवसर भएको जनाउँदै अहिलेको संसदमा बहुमतले बनेको वर्तमान सरकार समृद्धि र विकासको लागि प्रतिबद्ध भएको बताए ।
उनले सरकारको नारा नै ‘समृद्ध नेपाल र सुखी नेपाली’ भएकाले समृद्ध नेपाल बनाउन व्यवसायीलाई आग्रह गरेका छन् । मन्त्री भट्टराईले नेपालमा जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी गर्ने अवसर भएको धारणा व्यक्त गरे ।
बैठकमा टर्कीका वैदेशिक आर्थिक तथा सम्बन्ध बोर्डका अध्यक्ष निल ओलपाक, नेपालमा टर्कीका राजदूतसकिर ओजान टोरुनलर, व्यापार परिषद् अध्यक्ष श्री मुस्तफा अकिनसीलर सहभागी भएका थिए ।