काठमाडौं । कोरोनाका कारण देशका कतिपय स्थानमा किसानहरुले मल पाउन नसकेर खेती गर्न नसक्ने अवस्था सृजना भएको छ । कृषिमा क्रान्ति गर्ने नारा घन्काइरहेको सरकारको आपूर्ति व्यवस्थापनमा भएको लापारबाही र ढीलासुस्तीले बाली लगाउने बैलामै कृषक मल नपाएर टाउकोमा हात राख्न बाध्य भएका छन् ।
अहिले देशभर धान रोपाई गर्ने सिजन सुरु भएको छ । हरेक वर्ष किसानहरुले विभिन्न बाहानामा युरिया मलका लागि सास्ती व्यहोर्न बाध्य हुनुपरेको थियो । यो वर्ष लकडाउन र कोरोना भाइरसका कारण देखाउँदै मल अभाव सृजना हुन गएको छ ।
मल नपाएको भन्दै किसानहरूले हेटौंडामा सरकारविरुद्ध प्रदर्शन तथा नाराबाजी गरेका छन् । सोमबार मल लिन हेटौंडा बजारको मल बिक्री केन्द्रमा आएका किसानले मल नपाएपछि हेटौंडा बजारको बुद्धचोकमा जम्मा भएर सरकारविरुद्ध प्रदर्शन तथा नाराबाजी गरेका हुन् । उनीहरुले नाराबाजी गर्दै तत्काल पर्याप्त मल उपलब्ध गराउन मागसमेत गरेका छन् ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले साल्टको २१ हजार ५ सय टन युरिया समयमा नआए किसानले चरम अभाव सहनु पर्ने बताए । चालू आर्थिक वर्षमा रासायनिक मल आयातका लागि ९ अर्ब बजेट विनियोजन गरिएको थियो ।
उनका अनुसार चालू आर्थिक वर्षमा ४ लाख मेट्रिकटन रसायनिक मल ल्याउने लक्ष्य राखिएको थियो । त्यसमा ५० हजार मेट्रिकटन मल थप आयात गर्न बाँकी हरेको उनले बताए । कलकताबाट आउने सो मल ल्याउन जनशक्ति नभएपछि समस्या भएको उनको भनाइ छ ।
कोरोना भाइरसका कारण जलमार्ग र सडकमार्ग अवरुद्धका साथै बन्दरगाहमा लोड/अनलोड गर्ने र प्याकिङ गर्ने कामदार नपाइएका कारण आउनुपर्ने युरिया निर्धारित समयमा नआउँदा किसानले चर्को अभाव झेल्नु परेको उनले बताए ।
यस वर्ष किसानले धानबालीसँगै अहिले सुरु भएको मकै गोड्ने समयमा पनि युरिया मलको हाल्न पाएका छैनन् । कृषि सामग्री र साल्ट ट्रेडिङ कर्पोरेसनसँग ९ हजार १४८ टन मात्रै युरियाको मौज्दात रहेको छ ।
यस्तै, १२ हजार ९७२ टन डीएपी मौज्दात रहेको छ । डीएपी मल अभाव नभए पनि युरिया मलमा भने चर्को अभाव सृजना हुने देखिन्छ । दैनिक करिब १ हजार टन युरिया मल बिक्री हुने गरेको जनाइएको छ ।
पहिलो टप ड्रेसिङ (धान रोपाइँ भएको २२ दिन) बाहेक १ लाख १० हजार टन युरिया र ७० हजार टन डीएपी रासायनिक मल आवश्यक पर्छ । मन्त्रालयले किसानहरुले पछिल्लो समय मल अगावै लिन थालेको हुनाले पनि मल अभाव सृजना हुन भएको जनाएको छ । प्रवक्ता केसीले भदौमा लिनुपर्ने मल किसानहरुले जेठदेखि नै लिन थालेको बताए ।
आगामी वर्ष मल आयात बढ्ने
कृषि मन्त्रालय तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि सचिव राजेन्द्रप्रसाद भारीले यो वर्ष मलको आयात बढ्ने बताएका छन् । सधै नेपालमा २० प्रतिशतका हाराहारीमा जमिन बाँझो रहने गरेको थियो । सो जमिन बाँझो रहनुका कारण युवाहरु विदेशिनु रहेको मन्त्रालयले जनाउँदै आएको छ ।
यो पटक सो बाँझो जमिनमा समेत खेती हुने भएकाले उत्पादन तथा उत्पादकत्व समेत बढ्ने अनुमान गरिएको छ । ‘यो पटक मलको माग बढी छ, यसले गर्दा रसायनिक मल आयात समेत बढ्ने वाला छ,’ सचिव भारीले भने ।
यस्तै कृषि तथा पशुपंक्षी मन्त्रालयसँगै सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी र पब्लिक प्राइभेट पार्टनरसिप अन्तर्गतको साल्ट ट्रेडिङ कर्पोरेसनले भने कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण चाहेर पनि बर्खे धानबालीका लागि किसानलाई युरिया मल उपलब्ध गराउन नसकिने जनाएको छ ।