विद्युतीय गाडी र चुल्होको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिबाट सरकार पछि हटेको छैन : मन्त्री पुन
चाणक्य पोष्ट
प्रकाशित : 4:30 pm, मंगलबार, जेठ २७, २०७७

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि विद्युतीय गाडी तथा विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्ने गराउने नीतिबाट सरकार पछि नहटेको बताएका छन् ।

 

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले यस्तो बताएका हुन् ।

 

उनले विद्युत् आपूर्तिको सुनिश्चितताका लागि सरकारले ‘चार्जिङ स्टेशन’ निर्माण तथा सञ्चालन गर्ने कार्य जारी रहेको र आगामी आवभित्र ५० स्टेशन निर्माण गरिने बताए ।

 

उनका अनुसार सेवालाई थप भरपर्दो बनाउँदै पहुँचमा वृद्धि गरी देशभित्र विद्युत् ऊर्जाको खपत बढाउन १३२ केभी तथा ३३ केभी सबस्टेशनहरुको स्तरोन्नति तथा विस्तार गरिने छ ।

 

विद्युत् आपूर्ति प्रणालीलाई प्रभावकारी र भरपर्दो बनाई देशभित्र भरपर्दो विद्युत् आपूर्तिको व्यवस्था गर्न प्रसारण लाइन निर्माणमा पर्याप्त विनियोजनसहित विशेष प्राथमिकता दिइएको उनको भनाइ थियो । निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा, हेटौँडा–भरतपुर–बर्दघाट, कालीगण्डकी कोरिडोर, मर्स्याङ्दी कोरिडोर आदि निर्माणाधीन प्रसारण लाइन निर्माणलाई तीव्रता दिइने र बुटवल–कोहलपुर, भेरी कोरिडोर, कोशी कोरिडोर, प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माण प्रक्रिया शुरु गरिनेछ ।

 

न्यू बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय विद्युत् प्रसारण लाइनको निर्माण नेपाल र भारतको संयुक्त लगानीमा अघि बढाइने मन्त्री पुनले जानकारी दिए ।

 

आगामी वर्ष १३ सय मेगावाट बिजुली थप

 

ऊर्जालाई समृद्धिको प्रमुख आधारका रुपमा लिएको सरकारले आगामी आर्थिक वर्षभित्र करीब १ हजार ३०० मेगावाट थप विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थप्ने भएको छ ।

 

उनले आगामी आवमा सरकार तथा निजी लगानीबाट प्रवद्र्धित आयोजना सम्पन्न भई सो परिणामको विद्युत् केन्द्रीय प्रसारणमा जोडिने बताएका हुन् ।

 

उनले आगामी आर्थिक वर्षमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका साथै निर्माणाधीन रसुवागढी, माथिल्लो साञ्जेन, मध्य भोटेकोशी र निजी लगानीबाट प्रवद्र्धित अन्य आयोजना सम्पन्न भई विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने बताए । देशमा हालसम्म कुल विद्युत् उत्पादन जडित क्षमता १ हजार ३८६ मेगावाट पुगेको छ ।

 

उनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना चालु आवमै सम्पन्न गर्ने लक्ष्य लिइए पनि कोरोना भाइरस सङ्क्रमणका कारण काममा अवरोध सिर्जना हुँदा तोकिएको समयमै सम्पन्न गर्न नसकिएको प्रष्टोक्ति दिए। आगामी आर्थिक वर्षको शुरुआतमै तामाकोशीको बिजुली प्रसारण लाइनमा जोडिने उनको भनाइ थियो ।

 

१ हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण करीब ८० प्रतिशत सम्पन्न भइसकेको र आगामी आर्थिक वर्ष सो कार्य सम्पन्न गरी निर्माणका लागि प्रक्रिया अघि बढाइने मन्त्री पुनले जानकारी दिए।

 

यसका अतिरिक्त हरेक प्रदेशमा कम्तीमा एक ‘मेगा प्रोजेक्ट’को विकास गर्ने गरी दूधकोशी, माथिल्लो अरुण, प्रदेश/२ मेगा सोलार, तामाकोशी ५, नौमुरे, नलगाड, जगदुल्ला, वेतन कर्णाली, फुकोट कर्णाली, चैनपुर सेतीलगायत आयोजनाको विकासका लागि प्रक्रिया अघि बढाइने उनले बताए ।