स्वस्थानीको प्रसाद जसरीे अनुदान बाँड्ने प्रवृत्ति र बिचौलिया कृषि क्षेत्रका प्रमुख समस्या हुन् : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले बिचौलिया र स्वस्थानीको प्रसाद बाँडे जस्तो गरी अनुदान बाँड्ने प्रवृत्तिको अन्त्य नभएसम्म नेपालको कृषि क्षेत्रको विकास हुन नसक्ने बताएका छन् ।

 

सोमबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले प्रसाद जस्तै गरी दिने थोरै थोरै अनुदानले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्न नसकिने बताएका हुन् ।

 

‘बिचौलियाले गर्दा अहिले कृषकले आफ्ना लागत समेत उठाउन नसक्ने अवस्था छ,’ उनले भने ‘यसको अन्त्य नगरी कृषकले लाभ हात पार्न सक्दैनन् । अब जस्तोसुकै परिस्थिति आए पनि सरकारले सामना गरेर बिचौलियाको अन्त्य गर्छ ।’

 

अंग्रेजीमा लेखिएको प्रपोजल हेरेर आफू निकटका व्यक्तिलाई अनुदान दिँदा यसको प्रभावकारी शून्य रहेको उनले बताए ।  कृषको बचत सुनिश्चितता नभई समग्र कृषि क्षेत्रको विकास हुन नसकेको उनको भनाइ छ ।

 

उनले सरकारले दिने कृषि अनुदान सीधै कृषकसमक्ष पुग्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । ‘बचत सुनिश्चितता गर्न सरकारले हरेक प्रमुख बालीको न्यूनतम समर्थन मूल्य तोकी किसानलाई लाभ दिन सकिन्छ,’ उनले भने, ‘अब सरकारले किसानको मल, बीउ, परिश्रम, ढुवानी भाडामा २० प्रतिशत नाफा हुने गरी समर्थन मूल्य तोक्छ ।’

 

पञ्चायतकालको पछिल्ला केही वर्षदेखि आयातमा परनिर्भर हुन थालेको नेपालको कृषि क्षेत्र आधुनिकीकरण र व्यावसायीकरण नहुँदा अहिले चरम परनिर्भरको अवस्थामा पुगेको उनको भनाइ छ ।

 

उनले आफ्नो मन्त्रालयले प्रस्ताव गरेको कृषि कार्यक्रमहरु बजेटमा नसमेटिएको समेत बताए । कृषि क्षेत्रका आधारभूत पूर्वाधार तय गर्ने लगायत कार्यक्रम बजेटमा नसमेटिएको उनको गुनासो छ ।

भाइबरले शुरु गर्‍यो ग्रुप भिडियो कल, एकैसाथ २० जनालाई कल गर्न मिल्ने Read Previous

भाइबरले शुरु गर्‍यो ग्रुप भिडियो कल, एकैसाथ २० जनालाई कल गर्न मिल्ने

चण्डीराज ढकाल विरुद्धको खेद प्रस्ताव पारित भएपछि एफएनसीसीआईमा पूर्व अध्यक्षहरुको चासो Read Next

चण्डीराज ढकाल विरुद्धको खेद प्रस्ताव पारित भएपछि एफएनसीसीआईमा पूर्व अध्यक्षहरुको चासो