तातोपानी भन्सारको राजश्व असुली बढ्यो

काठमाडौं । निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व संकलनमा सकारात्मक प्रभाव देखिएको छ ।

 

सो कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमबारसम्ममा चालू वर्षको राजश्व १ अर्ब २७ करोड २६ लाख सङ्कलन भएको छ । गत फागुनसम्ममा १ अर्ब ८ करोड ९५ लाख राजश्व सङ्कलन भएको थियो ।

 

गत चैत २६ गतेदेखि अहिलेसम्म १८ करोड ३१ लाख राजश्व असुली भएको छ । यही जेठमा मात्र १२ करोड ७५ लाख राजश्व संकलन भएको छ । सरकारले स्वास्थ्य सामग्रीको आयातमा भने भन्सार शुल्क मिनाहा गरेको छ ।

 

गत चैत २६ देखि सो भन्सार पुनः सञ्चालनमा ल्याइएको थियो । सो नाकाबाट सबैभन्दा बढी कोभिड-१९ रोकथाम र परीक्षणसँग सम्बन्धित सामग्री आयात भएको छ । लकडाउन जारी रहँदा सो नाकाबाट १ अर्ब ७८ करोड २५ लाख २७ हजारको सामान भित्रिएको छ ।

 

उनले औषधि, कृषि सामग्री, मेसिनरी, एम्बुलेन्स र स्याउ तथा लसुन गरी उक्त मूल्यको सामान भित्रिएको जानकारी दिए। भन्सार कार्यालयका अनुसार २६ चैतदेखि १ अर्ब ६२ करोड १२ लाखको स्वास्थ सामग्री मात्र आयात भएको छ ।

 

यस्तै यस अवधिमा ११ करोड २० लाखको स्याउ र लसुन, ४ करोड ४४ लाखको धानको बीउ, ८२ लाखको कृषि सामग्री र ४९ लाखको एम्बुलेन्स आयात भएको छ ।

लकडाउनमा १६८ स्थानमा अनुगमन, डेढ करोड जरिवाना संकलन Read Previous

लकडाउनमा १६८ स्थानमा अनुगमन, डेढ करोड जरिवाना संकलन

एनआइसी एशियामा अनलाइनमार्फत छोटो समयमै खाता खोल्न सकिने Read Next

एनआइसी एशियामा अनलाइनमार्फत छोटो समयमै खाता खोल्न सकिने