काठमाडौं । जय बागेश्वरीमा आकासे पुल निर्माण सुरु भएको छ । काठमाडौं नगरपालिकाले मंगलबार जय बागेश्वरीमा आकाशे पुल निर्माणका लागि शिलन्यास गरेको हो ।
सो आकाशे पुल ४ महिना भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ । उक्त आकाशे पुल निर्माणका लागि भ्याटबाहेक ६४ लाख ९९ हजार ७५ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
आकाशे पुल स्टिल ट्रसबाट निर्माण हुने काठमाडौं महानगरपालिकाका भौतिक निर्माण शाखा प्रमुख राम थापाले जानकारी दिए । यस पुल निर्माणले जय बागेश्वरीमा हुँदै आएको दुर्घटनाको जोखिम घटाउने अनुमान गरिएको छ ।
सो पुल आवश्यक नपरेको अवस्थामा सार्न मिल्ने गरी बनाइने उनले बताए । ‘यो पुल ४ महिनाभित्र सकिन्छ, यसले यहाँ हुने दुर्घटनालाई धेरै हदसम्म नियन्त्रण गर्ने छ,’ थापाले भने ।
यस्तै, महानगरपालिकाले चाबहिलमा पनि आकासे पुल निर्माण सुरु गरेको छ । सो आकासे पुल निर्माणले लक डाउनका कारण पछिल्लो समय गति लिन सकेको छैन । उक्त आकासे पुल निर्माणलाई चाँडै निरन्तरता दिइने उनले बताए । उनले सो पुल निर्माण निरन्तरताका लागि निर्देशन दिइसकेको भन्दै ‘अब केही दिनमै त्यसको कामले गति लिने छ,’ भने ।
उनका अनुसार चाबहिलको आकाशे पुल असोजसम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने छ ।
महानगरले रामशाह पथमा निर्माण गर्दै गरेको आकाशे पुल निर्माण भने सम्पन्न भइसकेको छ । त्यसको सञ्चालन अझै सुरु गरिएको छैन । सो पुल माथि टेलिकम तथा केवलका तारहरु धेरै रहेकाले उक्त तार हटाउन टेलिकमलाई निर्देशन दिइएको बताए । सो तार हटाउने काम सम्पन्न हुना साथ आकाशे पुल सञ्चालनमा आउने उनको भनाइ छ ।