काठमाडौं । आगामी आर्थिक वर्षदेखि सुर्ती, खैनी जन्य वस्तु आयातमा भन्सार कर प्रतिकेजी ४० रुपैयाँले बढाइएको छ । विगतमा सुर्ती तथा खैनी जन्य वस्तुमा ६१० रुपैयाँ भन्सार कर रहेको थियो भने ४० रुपैयाँ बढाएर प्रतिकेजी ६५० रुपैयाँ पुर्याइएको छ ।
विद्युतीय सिग्रेटमा समेत भन्सार कर लाग्ने भएको छ । विगतमा विद्युत सिग्रेटमा आगामी आर्थिक वर्षदेखि विद्युत सिग्रेटमा खरिद मूल्यको ३० प्रतिशत भन्सार कर लाग्ने भएको हो ।
आर्थिक अध्यादेशमा उल्लेख भए अनुसार काठका फर्निचर जन्य वस्तुहरु समेत आयातमा कर लगाइएको छ । काठजन्य वस्तु आयातमा विगतमा कुनै भन्सार करको वयवस्था गरिएको थिएन । आगामी आर्थिक वर्षदेखि काठ जन्य वस्तु आयातका क्रममा खरिद मूल्यको १० प्रतिशत भन्सार कर तिर्नु पर्ने भएको छ ।
यस्तै, आगामी आर्थिक वर्षदेखि स्मार्ट घडीमा समेत भन्सार कर लाग्ने भएको छ । विगतमा यसमा पनि भन्सार कर तोकिएको थिएन । साउनबाट आयात हुने स्मार्ट घडीमा खरिद मूल्यको १५ प्रतिशत भन्सार कर लाग्ने छ ।
आगामी आर्थिक वर्षको बजेटले सुन, चाँदी, लगायतका जवारतमा मूल्य वृद्धि हुने भएको छ । सुनको भन्सार महसुल प्रतितोला ३१ प्रतिशतले वृद्धि भएको छ । चाँदीको भन्सार महशुल १३ प्रतिशतले बढेको छ । यस अनुसार ५० ग्रामसम्म सुनको भन्सार कर अब ९ हजार रुपैयाँ लाग्ने छ । विगतमा यसको भन्सार कर ६ हजार २ सय रुपैयाँ रहेको थियो ।
यस्तै विद्युतीय सवारीमा कर बढाएको छ । विद्युतीय तीन पांग्रे सवारीमा ४० प्रतिशत भन्सार कर लाग्ने भएको छ । विद्युतीय कारहरु आयातमा भन्सार कर ८० प्रतिशतसम्म रहेको छ ।
यसैगरी हवाई इन्धन, पेट्रोल डिजेट र मट्टीतेलको भन्सार महसुलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ । विगतमा पेट्रोलमा १५.५० रुपैयाँ र डिजेलमा २ रुपैयाँ भन्सार महसुल तिर्नु पर्थ्यो । तर, अब आगामी आर्थिक वर्षदेखि पेट्रोलमा २५.५ रुपैयाँ र डिजेलमा प्रतिलिटर १२ रुपैयाँ भन्सार महसुल तिर्नुपर्ने छ ।
सुकाएका फलफूलहरु आयातमा ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याइएको छ । माछाका प्याकिङ गरिएका सामानहरुमा र प्याकिङ गरिएका जल खाद्य पदार्थमा समेत भन्सारकर बढाएर १० प्रतिशत पुर्याइएको छ । विगतमा यी वस्तुमा भन्सार महसुल ५ प्रतिशत रहेको थियो ।
आलु चिप्समा १० रुपैयाँबाट बढाएर १७ रुपैयाँ भन्सार महसुल पुर्याइएको छ । कपालमा प्रयोग गर्ने सामाग्री, तेल, स्याम्पु मेहेन्दी लगायतका वस्तुमा भन्सार महसुल बढाएर १० प्रतिशत पुर्याएको छ। विगतमा यो ५ प्रतिशत रहेको थियो ।
यस्तै, मदिरा बनाउनका लागि प्रयोग हुने स्प्रिटमा पनि भन्सार कर बढाइएको छ । विगतमा १२ सय रुपैयाँ प्रतिलिटर पर्ने सो स्प्रिटको मूल्य भन्सार कर पर्नेमा अब प्रतिलिटरमा १४ सय रुपैयाँ भन्सार कर पर्ने छ ।