काठमाडौं-तराई फास्ट ट्रयाकको काम दोस्रो चरणमा, भौतिक प्रगति ११ प्रतिशत

निर्माणधीन फास्टट्रयाक

काठमाडौं। नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई, मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को काम दोस्रो चरणमा प्रवेश गरेको बताएको छ ।

 

सेनाले फास्ट ट्रयाकको काम तीव्र गतिमा अगाडि बढाउनका लागि परामर्शदाता  छनोट गरेको छ । परामर्शदाता छनोटसँगै फास्ट ट्रयाकको काम दोस्रो चरणमा प्रवेश गरेको सेनाले बताएको हो ।

 

सेनाले परामर्शदाका रुपमा योसिन इञ्जिनियरिङ कर्पोरेसनसँग जेठ २ गते सम्झौता गरेको हो। यससँगै सेनाले द्रुतमार्गको काम तोकिएकै समयमा नै सम्पन्न हुने दाबी गरेको छ ।

 

आर्थिक वर्ष २०८०/८१ मा सक्ने लक्ष्य राखिएकोमा द्रुतमार्ग कोरोनाको कारण केही समय धकेलिने अनुमान गरे पनि सेनाले भने समयमा सक्नेगरी काम अघि बढाइएको जनाएको छ ।

 

सेनाका अनुसार, द्रुतमार्ग आयोजनामा अहिलेसम्मको भौतिक प्रगति ११.११ प्रतिशत र वित्तीय प्रगति ९.१० प्रतिशत मात्र रहेको छ। द्रुतमार्ग परियोजनामा तीनवटा सुरुङ र साना-ठूला गरी ८७ वटा पुल निर्माण हुनेछन्।

 

तीमध्ये १७ वटा पुल विशेष प्रकृतिका रहने छन्। कुल साढे ७२ किलोमिटरको हुने द्रुतमार्गमा सडक ५५.५ किमि, सुरुङमार्ग ६.४१ किमि र पुल १०.५९ किमि पर्नेछ ।

 

यसको निर्माणमा हाइब्रिड प्रविधिका आधारमा ठेक्का लगाएर काम शुरु गर्ने योजनामा सेना छ । ईपीसी, डिजाइन एण्ड बिल्डलगायत प्रक्रियाबाट यो निर्माण गर्न लागिएको छ।

 

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार समयमै काम सक्नका लागि आयोजनालाई ११ वटा खण्डमा विभाजन गरेर समग्र योजना बनाएर निर्माण अघि बढाउन लागिएको छ। जसमा सेना र अन्तर्राष्ट्रिय परामर्शदाता एकसाथ सँगै भएर काम गर्नेछन्।

 

सरकारले निर्देशन अनुसार द्रुतमार्ग विशेष महत्वको रहेको भन्दै उनले यसको निर्माण कार्य तीव्ररुपमा अघि बढेको र लक्षित समयभित्र पारदर्शी र गुणस्तरीय हिसाबले पूरा हुने बताए ।

 

हालै सम्पन्न गरिएको अन्तर्राष्ट्रिय परामर्शदाता छनौट कार्यपनि अधिक प्रतिस्पर्धाका साथ स्वच्छता, पारदर्शीताका साथ विद्यमान ऐन कानूनको परिधिभित्र बसेर गरिएको उनले बताए । आगामी आर्थिक वर्षबाट सुरुङमाग निर्माण हुने जानकारी पनि उनले दिए ।

 

माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा, २५ मेगावाट बिजुली थपिने Read Previous

माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा, २५ मेगावाट बिजुली थपिने

एकैदिन थप १५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार नाघ्यो Read Next

एकैदिन थप १५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार नाघ्यो